क्युबामा ६ दशक लामो क्यास्ट्रो परिवारको शासन अन्त्य ! मिगेल नयाँ नेता चयन

हवाना, ६ बैशाख । क्युबाको संसदले मिगेल डियाज कनेललाई देशको नयाँ नेता चयन गरेको छ । देशको नयाँ नेता चयनका लागि संसदमा भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् । उनले ८६ वर्षीय राउल क्यास्ट्रोको स्थान लिनेछन् । यो सँगै क्युबामा क्यास्ट्रो परिवारको करिब ६ दशक लामो शासन अन्त्य हुने देखिएको छ । राउल क्यास्ट्रोले सन् २००६ मा दाजु फिडेल क्यास्ट्रो अस्वस्थ भएपछि देशको शासन पाएका थिए । फिडेलको सन् २०१६ मा ९० वर्षको उमेरमा निधन भएको थियो । क्युबाको नेशनल एसेम्बलीमा अब उनलाई राष्ट्रपति निर्वाचित गर्नका लागि मतदान हुनेछ । डियाज राष्ट्रपति बन्ने पक्का जस्तै छ । राउल क्यास्ट्रोले राष्ट्रपतिको पद छाडेपनि कम्युनिस्ट मुलुक क्युबाका प्रभावशाली व्यक्तिका रुपमा रहनेछन् । उनी सन् २०२१ मा पार्टीको महाधिवेशनसम्म अध्यक्ष रहिरहनेछन् । फिडेल क्यास्ट्रो र उनका भाई राउलको क्रान्तिकारी इतिहास भएपनि डियाजको त्यस्तो इतिहास नरहेका कारण उनलाई आगामी दिनमा क्युबाको नेतृत्व गर्नका कठिनाई हुने अनुमान पनि गरिएको छ । डियाज कजेललाई सन् २०१३ मा क्युबाको उपराष्ट्रपति बनाइएको थियो । त्यतिबेला उनी पार्टीमा त्यतिधेरै चर्चामा थिएनन् । तर त्यसपछि उनी क्यास्ट्रोका दाहिने हात बने । उनलाई पछिल्लो पाँच वर्षमा राष्ट्रपतिको पदभार सम्हाल्नका लागि तयार गरिएको थियो । देशको पहिलो उपराष्ट्रपति बन्नुअघि ५७ वर्षीय डियाजसँग लामो राजनीतिक अनुभव भने थियो । उनको जन्म अप्रिल १९६० मा भएको हो । यसको एक वर्षअघि नै युवा फिडेल क्यास्ट्रोले क्रान्तिमार्फत देशको प्रधानमन्त्री बनेका थिए । उनले इलेक्ट्रिकल इन्जिनियरिङको पढाई सकेर युवावस्थामा नै योङ्ग कम्युनिस्ट लिगसँग जोडिएर सान्टा क्लारामा युवावस्थामा नै राजनीतिक जीवन सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?