किम सँग परिणाममुखी बैठक नभए बाहिरिन्छु : ट्रम्प

वासिंगटन, ५ बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा जापानी प्रधानमन्त्री शिन्जो आबे पूर्ण रूपमा पारमाणविक निःशस्त्रीकरणका लागि सहमत नभएसम्म उत्तर कोरियामाथि अधिकतम दबाब दिइरहनुपर्नेमा सहमत भएका छन् ।राष्ट्रपति ट्रम्पको फ्लोरिडास्थित मार आ लागो रिजोर्टमा बोल्दै दुई नेताहरूले यस्तो बताएका हुन् ।राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ्ग–उनसँग आफूले गर्ने भनेको शिखर बैठक सफल हुने अपेक्षा गरेको पनि बताएका छन् । तर उक्त वार्ता विफल भए आफू सम्मानजनक ढङ्गले बैठकबाट बाहिरिने उनले उल्लेख गरे ।ट्रम्पले उत्तर कोरियामा बन्दी बनाइएका तीन अमेरिकी नागरिकको रिहाइका लागि पनि वार्ताहरू भइरहेको जनाएका छन् ।यसअघि उनले अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले गोप्य रूपमा उत्तर कोरिया पुगेर राष्ट्रपति किमलाई भेटेको पुष्टि गरेका थिए ।उनले पोम्पेओले किमसँग ‘राम्रो सम्बन्ध’ कायम राखेको र सबै कुरा सहज ढङ्गले अघि बढिरहेको बताएका थिए । सो भ्रमण अमेरिकी र उत्तर कोरियाली अधिकारीबीच सन् २००० यता भएको सबैभन्दा उच्चस्तरको आदानप्रदान हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?