क्रान्तिकारीको इतिहासमै पहिलो महिला अध्यक्ष, को हुन् पञ्चा सिंह ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् । अध्यक्षका अर्का दाबेदार सुरेन्द्र बस्नेतलाई पछि पार्दै पञ्चा क्रान्किारीको अध्यक्ष बनेकी हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थीको नेतृत्व सिंहलाई सुम्पिएका हुन् ।

आइतबार बिहान माओवादी अध्यक्ष दाहालले पञ्चालाई अध्यक्ष बनाउने निर्णय गरेका हुन् । दाहाल निवास खुमलटारमा विद्यार्थी नेतालगायतको उपस्थितिमा भएको छलफलमा दाहालले पञ्चालाई अध्यक्ष तोकेका हुन् ।

अखिलकाे नेतृत्व चयन गर्ने जिम्म अध्यक्ष दाहाललाई दिइएको थियो । अखिलको २२औं सम्मेलन राजधानीमा जारी छ । अखिल क्रान्तिकारीको इतिहासमा अक्ष्यक्ष बन्ने पञ्चा पहिलो महिला बनेकी छिन् । सम्मेलनको बन्दसत्रबाट पञ्चा अध्यक्ष भएको घोषणा गरिने कार्यक्रम रहेको माओवादीका एक नेताले लोकपथलाई जानकारी दिए ।

को हुन् पञ्चा सिंह

पञ्चा १४ वर्षको उमेरदेखि नै माओवादी आन्दोलनमा लागेकी हुन् । कालिकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा १४ वर्षकै उमेरमा भूमिगत भएकी थिइन् । त्यतिबेला नेपालमा माओवादी द्वन्द्व चर्किएको अवस्था थियो ।

भूमिगत भएको सुरुका दिनमा उनी माओवादीको कलाकार टिममा रहेर काम गरिन् । ६ महिना त्यता काम गरेपछि उनी अखिल क्रान्तिकारीमार्फत विद्यार्थी राजनीतिमा लागिन् र सँगसँगै अध्ययनलाई पनि अघि बढाइन् ।

माओवादीमा लागेको छोटाे समयमा २०५९ मा उनी जुम्ला जिल्ला कोषाध्यक्ष भएकी थिइन् । त्यसपछि २०६२ मा कालिकोट र जुम्लाको क्रान्तिकारीको अध्यक्ष बनिन् । २०६५ मा उनले भेरी –कर्णालीको क्रान्तिकारीको संयोजक बनिन् । क्रान्तिकारीको १७औं महाधिवेनले उनलाई केन्द्रीय सदस्यमा निर्वाचित गरेको थियो ।

त्यसपछि उनी क्रान्तिकारीको विभिन्न जिम्मेवारीमा रहेर काम गरिन् । २०७४ भदौमा काठमाडौंमा भएको क्रान्तिकारीको २१ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उनी उपाध्यक्षमा निर्वाचित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?