काठमाडौं । एमालेको पहिलो ३ दिने विधान महाधिवेशन आज सकिएको छ ।
शुक्रबार ललितपुरको गोदावरीमा महाधिवेशन सुरु भएको महाधिवेशन विभिन्न प्रतिवेदन पारित गर्दै आइतबार (आज) सकिएको छ ।
एमालेले पार्टीको नीति तय गर्न यो वर्ष छुट्टै विधान महाधिवेशन गरेको हो । यस अघि पार्टीको महाधिवेशनमा नै पार्टीको नेतृत्व चयन र नीतिको टुंगो लगाउने गरेको थियो ।
एमालेले पार्टीको दशौ राष्ट्रिय महाधिवेशन भने आगामी मंसिर १० बाट गर्ने निर्णय गरेको छ । २०७१ मा नवौँ महाधिवेशन भएको थियो । एमाले फुटेको एक महिनापछि नै विधान महाधिवेशन हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
विधान महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेले पेश गरेको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
महाधिवेशनले एमालेको केन्द्रीय निर्वाचन आयोगको गठन, एमालेको लोगो परिमार्जन, पार्टीका सबै कमिटिमा ३३ प्रतिशत महिला अनिवार्य, केन्द्रीय कमिटिबाहेक अरु कमिटीमा रहने सदस्यहरुको सिलिङ तोक्ने काम गरेको छ । त्यस्तै पार्टीको अनुशाशन आयोग,लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगलाई शक्तिशाली बनाउने निर्णय पनि विधान महाधिवेशनले गरेको छ । त्यस्तै केन्द्रीय सचिवालय १५ सदस्यीय बनाउने निर्णय पनि गरेको छ ।
एकछत्र ओली
एमालेमा आन्तरिक कलह चर्किएर गत भदौ पहिलो साता पार्टी नै विभाजित भयो । अध्यक्ष ओलीको कार्यशैलीलाई लिएर माधव नेपालको नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टी बनेको छ । माधव नेपालहरु बाहिरिएपछि विधान महाधिवेशनमा ओली पक्षका नेता कार्यकर्ताको मात्रै सहभागिता रह्यो ।
विगतमा ओ लीको कार्यशैलीलाई लिएर ओलीको कडा आलोचना गर्ने भीम रावल, योगेश भट्टराई,अष्टलक्षी शाक्य,सुरेन्द्र पाण्डे,गोकर्ण विष्ट,घनश्याम भुसाल लगायतका नेताहरु निरिहजस्तै भए ।
ओली र उनी पक्षकाले जे जे भन्छन् त्यसैमा ताली पड्काउनु पर्ने अवस्थामा ती नेताहरु पुगे । ओलीले आफू बाँचेकोमा आफ्ना आलोचनकलाई चिन्ता लागेको भन्दै कार्यकर्ताको सेन्टीमेन्ट बटुल्न पनि खोजे विधान महाधिवेशनमा ।
महाधिवेशनमा आएका प्रतिनिधिलाई पिउन दिइएको पानीको बोतलमा समेत ओलीको तस्वीर राखेर उनलाई देवत्वकरण गर्ने प्रयास गरिएको छ ।
फेरि पनि अध्यक्षमा ओली
नवौँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली अब दशौ महाधिवेशमा पनि उनी नै अध्यक्ष बन्ने पक्का जस्तै भएको छ ।
उपमहासचिव बिष्णु पौडेलले बिधान मस्यौदा ओलीलाई फाइदा पुग्नेगरी बनाएका छन् । एमालेमा ७० वर्षे उमेरहद कायम रहेपनि कार्यकालको बीचमा ७० वर्ष पुगे त्यसमा उसले पूरा कार्यकाल पार्टी चलाउन पाउने ब्यास्या गरिएको छ ।
विक्रम सम्वत २००८ साल फागुनमा जन्मिएका ओली अहिले ७० वर्षमा हिडिरहेका छन् । आगामी फागुनमा उनी ७० वर्ष पूरा हुँदैछन् । मंसिरमा एमालेको दशौं महाधिवेशन हुँदैछ । त्यसमा ओली अध्यक्ष बन्ने पक्का जस्तै छ । उनी अध्यक्ष बनेमा ७५ वर्षको उमेरसम्म अध्यक्ष नै रहिरहनेछन् ।
२०७४ को निर्वाचनमा माओवादीसँग मिलेर झण्डै दुइ तिहाइको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली ओली प्रतिपक्षी दलको नेताका रुपमा सिमित भएका छन् । उनले २०७७ पुस ५ र २०७८ जेठ ७ मा गरी दुइपटक प्रतिनिधि सभा विघटन गरे । तर दुबै पटक सर्वोच्चेले प्रतिनिधि सभा पुनः स्थापित गरिदियो । उनले आफू नेतृत्वको सरकारलाई ढाल्न माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हात रहेको भनेर कार्यकर्ताबाट उम्किए । आफ्ना गल्तीबारे केही बोलेनन् । दोष जति अरुको थाप्लोमा हालिदिए । आफूलाई देवत्व करण गरिएको भनेर आलोचना भएकोमा ओलीले त्यसको प्रतिवाद गर्दै विधान महाधिवेशनको समापनका दिन आज विरोधीले एमालेको एकता भाँड्न त्यस्तो भ्रम फैलाइएको दाबी गरे । उनले हामी कसैलाई देवता मान्दैनौ, कसैको देवत्वकरण गर्दैनौं भनेर स्पष्टीकरण दिन खोजे ।
कतिपयले यो विधान महाधिवेशनलाई अध्यक्ष ओली गुटको भेलाको संज्ञा दिएका छन् । ओली फेरि अध्यक्ष बन्दा ओली पछि रहेका अरु धेरै नेताहरु भने अध्यक्ष बन्नबाट वञ्चित हुनेछन् । ओलीका विरोधीहरु पार्टीबाट बाहिरिएपछि ओलीलाई पार्टीमा अब आफू अनुकुलका निर्णय गराउन झन सहज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया