रुपन्देहीमा चक्कु प्रहार गरी युवकको हत्या

काठमाडौं । रुपन्देहीको एक प्लाई उद्योगमा कामदारबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ फर्साटिकामा रहेको प्लाई उद्योगमा झडप हुँदा पश्चिम नवलपरासी सुस्ता गाउँपालिका–३ का २२ वर्षीय अवधेश हरिजनको मृत्यु भएको हो ।

मदिरा सेवन गरी उद्योगभित्र नै कामदारबीच झडप हुँदा उक्त घटना भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले लोकपथलाई जानकारी दिए ।

गएराती ११:१५ बजे भएको झडपमाअवधेशलाई सोही उद्योगमा कार्यरत भारतीय नागरिक रवि सिंहले चक्कु प्रहार गरेको केसीले जानकारी दिए । उनका अनुसार मृतकका बाबु गोपालचन्द हरिजन पनि घाइते भएका छन् । हत्यामा संलग्न रवि सिंह पनि सामान्य घाइते रहेको र उनलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

रविले अवधेशलाई चक्कु प्रहार गरेपछि उनका बाबु गोपालचन्द्रलाई पनि चक्कु प्रहार गरेका थिए । अवधेशको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनका घाइते बाबु र हत्या आरोपित रवि सिंहको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भएको जनाइएको छ । घटना के कति कारणले घटेको सो बारे अन्सम्धन भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?