भागबण्डा मिले पनि मन्त्री छान्न हम्मेहम्मे, को–को हुने भए त मन्त्री ?

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरूले मन्त्रालयको भागबण्डा मिलाए पनि मन्त्री छान्न भने सकस भएको छ ।

सबै दलहरू आन्तरिक छलफलमा लागे पनि मन्त्री बन्नेको लिस्ट गोप्य राखेका छन् । गत असार २९ मा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले गठबन्धनमा सहभागी दलका आ–आफ्ना आन्तरिक समस्याका कारण सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् ।

देउवाले आफू प्रधानमन्त्री बनेको झण्डै ३ महिना पुग्न लाग्दा सरकारलाई पूर्णता दिने विषयमा गठबन्धनमा सहभागी दलहरूलाई मन्त्रीको नाम तत्काल उपलब्ध गराइदिन दबाब दिएका छन् । सरकारले पूर्णता पाउन नसक्दा त्यसको अपजस भने देउवाले बोक्दै आएका छन् ।

मन्त्री बन्ने लाइनमा धेरै सांसद भएपछि त्यसलाई टुंग्याउन दलहरूलाई संकट आइलागेको छ । आज नाम टुंगिए भोलि घटस्थापनाका दिन मन्त्रिपरिषद् विस्तार हुनेछ । देउवा निकट एक नेताका अनुसार भोलि बिहीबार साइत राम्रो पनि रहेकाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

गठबन्धनमा रहेको दलमध्ये राष्ट्रिय जनमोर्चाले आफू प्रतिपक्षमा बस्ने बताएकाले उसलाई मन्त्रीको भाग लगाइने छैन । मंगलबार कुन दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति जुटेको थियो ।
कांग्रेसले पाउने मन्त्रालय कांग्रेसको भागमा प्रधानमन्त्रीसहित गृह, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, परराष्ट्र, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय परेको छ ।

कांग्रेसबाट यसअघि गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा डा. नारायण खड्का, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भइसकेका छन् । भागण्डामा कानुन मन्त्रालय कांग्रेसको भागमा नपरेपछि कार्कीलाई अर्काे मन्त्रालयमा लैजाने कांग्रेसको तयारी छ ।

कांग्रेसबाट मन्त्री बन्ने लिस्टमा डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, तेजुलाल चौधरी, उमाकान्त चौधरी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, अतहर कमाल, डा. डिला संग्रौला, भीमसेनदास प्रधानलगायत छन् ।

माओवादीले पाउने मन्त्रालय

माओवादीको भागमा ६ मन्त्री र १ राज्यमन्त्री परेको छ । माओवादीलाई अर्थ, ऊर्जा, खानेपानी, शिक्षा विज्ञान तथा प्रविधि, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति गठबन्धनको छ ।

एक राज्यमन्त्री पनि माओवादीले पाउनेछ । माओवादीको भागमा परेको मन्त्रालयमध्ये अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल नियुक्त भइसकेका छन् । अब माओवादीले हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुदन किराँती, अञ्जना विशंखे, शिवकुमार मण्डल, महेश्वर गहतराजमध्येबाट मन्त्री छनोट गर्नसक्ने बताइएको छ ।

नेकपा एकीकृत समाजवादीले पाउने मन्त्रालय

एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति भएको छ । उसको भागमा कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा र सहरी विकास मन्त्रालय परेका छन् । देउवा नेतृत्वको सरकार गठनमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहेको छ ।
एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, मेटमणि चौधरी, किसान श्रेष्ठ विरोध खतिवडा, भवानी खापुङ, जीवनराम श्रेष्ठ र प्रेम आले मन्त्री बन्ने सम्भावना छ ।

जसपाले पाउने मन्त्रालय

जनता समाजवादी पार्टी (जसपा)ले ४ मन्त्री र १ राज्यमन्त्री पाउने निश्चित भएको छ । जसपाले पाउने मन्त्रालयहरूमा भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय रहेका छन् । जसपाबाट मन्त्री हुनेमा महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, रेणु यादव, मृगेन्द्र यादवलगायत रहेका छन् ।

आकांक्षी धेरै

सबै राजनीतिक दलमा मन्त्री बन्ने आकांक्षी सांसद धेरै भएपछि उनीहरूको व्यवस्थापन गर्न दलहरूलाई हम्मेहम्मे परेको छ । मन्त्री बन्ने चाहना राख्नेहरू नेताका घर–घरमा पुग्ने गरेका छन् । कांग्रेसमा पनि धेरै गुट र उपगुट रहेकाले उनीहरूको चित्त बुझाउनुपर्ने बाध्यता प्रधानमन्त्री देउवालाई छ ।

त्यसैगरी अरु दलको अवस्था पनि त्यस्तै छ । बुधबार सबै दलले मन्त्रीको नाम टुंग्याएमा बिहीबार सरकारले पूर्णता पाउने प्रधानमन्त्री देउवा निकट एक नेताले लोकपथलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?