काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ ।
पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो । कारबाहीमा परेका तीन वटा पसलहरुले दर्ता नै नगरीकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५/२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताए । निरिक्षण अधिकृत झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुई वटा पसलहरुमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताए ।
निरीक्षण अधिकृत झाले भने, ‘न्यूरोडको खिचापोखरीमा अनुगमन गर्यौँ,७ वटा पसलहरुमा अनुगमन गर्यौँ, कपडा पसल,भाँडा पसल,२ वटा खाद्यान्नका पसलहरुमा अनुगमन गर्यौँ, ७ पसलमध्ये दुई तीनवटा दर्ता नै नगरी सञ्चालन गरेको पाइयो, जसलाई हामीले तत्काल जरिबाना गर्यौँ, कसैलाई १५, कसैलाई २० हजारको दरले जरिबाना गर्यौँ, एकदुई वटा पसलहरुमा स्वयं साहू नभएको हुनाले उहाँहरुलाई तीन दिनको समय दिएर विभागमा बोलाएका छौँ ।’
सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिन जसो अनुगमन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया