काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस बैंकले चालू आवको ९ महिनाको अविधिमा बैंकले ५४ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा तीन गुण बढी हो ।
चालू आवको ९ महिनाको वित्तिय विवरण निकालेका वाणिज्य बैंकको खुद नाफाका आधारमा हेर्दा भने बैंकको नाफा सिभिल र मेगा बैंकभन्दा बढी हो । यद्यपि यो नाफा प्रयाप्त हैन अन्य बैंकसँग प्रतिस्पर्धामा उत्रन बैंकलाई थप सुधार आवश्यक देखिन्छ ।
बैंकले खराब कर्जा अनुपात घटाएपछि नोक्सानी व्यवस्था ७६ प्रतिशतले घटेर २३ करोड मात्र गरेको छ भने कर्जा असुली १६ करोडबाट बढाएर ४४ करोड पुर्याएको छ जसले बैंकको नाफा वृद्धिमा सहयोग गरेको देखिन्छ । कर्जा निक्षेप अनुपातमा केही सुधार गरेपनि बैंकको निक्षेप संकलन र कर्जा परिचालन निकै सुस्त देखिन्छ ।
तेस्रो त्रैमाससम्ममा बैंकको व्याज खर्च गत वर्षभन्दा ६७ प्रतिशत र कर्मचारी खर्च २८ प्रतिशतले बढेको छ । बैंकको निक्षेप संकलन लागत ५० प्रतिशतले बढेपछि बैंकको आधार व्याजदर १२ प्रतिशत माथि पुगेको छ ।
बैंकले गत वर्ष शतप्रतिशत बढी निक्षेप र कर्जा लगानी बढाएपनि अहिले भने ६ प्रतिशत हाराहारी मात्र बढेको देखिन्छ ।
बैंकको व्याज आम्दानीमा २६ प्रतिशत सुधार आएपनि व्याज खर्च बढेपछि खुद व्याज आम्दानी भने गत वर्षकोभन्दा ५३ करोड कम आर्जन भएको छ । गत वर्ष एक अर्ब ५४ करोड व्याज आम्दानी गरेको बैंकको खुद व्याज आम्दानी १ अर्ब १ करोडमा समेटिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया