किन स्थानीयले बाधा ठान्छन् बालाजु औद्योगिक क्षेत्रलार्इ ?

काठमाडाैं : बार्इसधारा सुक्यो । १९ टन थेग्ने सडकमा २४ टनका ट्रक गुड्छन्, कालोपत्रे एकहप्ता पनि टिक्दैन । वरपर मानववस्ती छ, तर वस्तीले घेरिएको औद्योगिक क्षेत्रभित्र ग्याँस प्लान्ट ! ठूला र अग्ला मालबाहक गाडीले बारम्बार बिजुलीको तार छिनाइदिन्छ । 

बालाजुदेखि गैह्रीखेतसम्मको खानेपानीको पार्इप गाडीले कुल्चँदा पानी अाउँदैन । उधोगभित्र मोविल पोल्दा स्वास फेर्न पार्इँदैन । बालाजु औद्योगिक क्षेत्रले पीडा मात्रै दिएको स्थानीयबासीको निकै अघिदेखिको गुनासो हो । 

वडाबासीले सम्बन्धित निकायलार्इ बारम्बार उधोगको व्यवस्थापन गर्न भनेका छन् । तर, सरकारले खास वास्ता गरिरहेको छैन । औद्योगिक क्षेत्र व्यवस्थापनले जनताको गुनासाे सुन्नै चाहँदैन । किनकि, सुरक्षाकर्मीले स्थानीयलार्इ सामुहिक रूपमा उधोगभित्र पस्नै दिँदैनन् । 

औद्योगिक क्षेत्रका प्रमुख उत्पादनमुलक उधोगहरू बन्द भर्इसकेका छन् । उधोग स्थापना हुँदाका काष्ठ उधोग र कपडा उधोग बन्द भइसकेका छन् । त्यतिबेला खोलिएकामध्ये नेविको बिस्कुट र मैदा मिलमात्रै सञ्चालनमा छ । 

५१ प्रतिशत नेपाल सरकारको र ४९ प्रतिशत गैरसरकारी निकायको सहयोगमा २०१६ सालदेखि सञ्चालनमा अाएको बालाजु औद्योगिक क्षेत्रमा हाल १२५ वटा उद्योेगहरु सञ्चालनमा छन् । १४ वटा उधोग निर्माणधीन भएपनि ४ वटा उद्योग बन्द भैसकेका छन् । औद्योगिक क्षेत्रभित्र उत्पादनमुलक उधोग हुनुपर्नेमा १२ वटा अन्य सेवामूलक सङ्घ संस्थाहरुको कार्यालय औद्योगिक क्षेत्र परिसरमा छ ।

लामो समयदेखि सास्ती दिएपछि स्थानीयले औद्योगिक क्षेत्र नै सार्न माग गरेका छन् । तर सरकारले सार्न नसकिने जवाफ दिने गरेको छ । बालाजुमा औद्योगिक क्षेत्र खोलेपछि नै त्यस एरियामा मानव बसोबास बढेकाले सार्न नसकिने सरकारको तर्क हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?