काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई १४ रनले हराएको छ । पछिल्लो हारसँगै मुम्बई अब प्लेअफ चरणबाट करिब बाहिरिइसकेको छ । बैंग्लोर आठ म्याचमा तेस्रो जितका साथ अंक तालिकामा पाँचौं स्थानमा छ ।
बैंग्लोरले दिएको १६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बई ७ विकेट गुमाउँदै १५३ रनमै समेटियो । मुम्बईका लागि हार्दिक पान्ड्याले सबैभन्दा धेरै ५० रन बनाए । क्रुणाल पान्ड्या र जेपी डुमिनीले समान २३ रन बनाए भने किरोन पोलार्डले १३ तथा बेन कटिङले १२ रन बनाए ।
बैंग्लोरका लागि टिम साउथीले चार ओभरमा २५ रन दिएर २ विकेट लिए । उनी प्लेयर अफ दि म्याच भए ।
यसैगरी, उमेश यादवले लगातार दुई विकेट झारे । उनले सूर्यकुमार यादवलाई ९ रनमा एलबीडब्लुको धरापमा पारे भने कप्तान रोहित शर्मालाई खाता खोल्न नदिई पभेलियन फर्कार्इदिए । उमेशले चार ओभरमा २९ रन खर्चिएर दुई विकेट लिएका हुन्।
टस हारेर पहिले व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । मनन बोहराले सर्वाधिक ४५ रन, ब्रेन्डन म्याकुलमले ३७ र कप्तान बिराट कोहलीले ३२ रनको योगदान गरे । बलिङतर्फ मुम्बई इन्डियन्सका हार्दिक पान्ड्याले सर्वाधिक ३ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया