काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना मिलेनिययम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास गर्नका लागि प्रक्रिया अघि बढाउने भएको छ ।
सरकारले एमसीसी सम्झौतालाइ अघि बढाउन नै संसद अधिवेशन अन्त्य नगरेर दशैँपछि पनि निरन्तरता दिएको नेपाली कांग्रेसका एक नेताले बताए । खास गरी प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट चाँडो टुंगो लगाउने पक्षमा छन् । विसं २०७४ भदौ २९ गते अमेरिकाको वाशिङटनमा एमसीसीसँग सम्झौता भएको थियो । सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री एवं अहिलेको संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तर्फबाट कार्यबाहक सिईओ जोनाथन नाश हस्ताक्षर गरेका थिए । तर पछिल्लो समय एमसीसी नेपालमा बिवादित बन्दै गएको छ ।
अमेरिकाले नेपाललाई विद्युतको अन्तरदेशीय प्रसारण लाइन निर्माण र सडकको विकास र मर्मतका लागि ६० अर्व रुपैयाँको अनुदान दिने परियोजना हो एमसीसी । एमसीसी नेपालमा लागू भएको ५ वर्षसम्ममा ६० अर्ब नेपालले पाउने रकम हो । यसमा नेपालले पनि पूर्वाधार विकासका लागि १५ अर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ ।
यो सम्झौता नेपालको प्रतिनिधिसभाबाट अनुमोदन गर्नुपर्नेछ । यो सम्झौता प्रतिनिधि सभामा दर्ता भएपनि अनुमोदनका लागि पेश भएको छैन। प्रतिनिधि सभामा संझौता दर्ता भएको झण्डै साँढे २ वर्ष भैसकेको छ । तर यो अघि बढ्न भने सकेको छैन । खासगरी उक्त संझौतामार्फत अमेरिकाले नेपालमा हस्तक्षेप गर्न खोजेको, यो कार्यान्वयनमा आए अमेरिकाले उसका सेना नेपालमा राख्छ जस्ता कुराहरु धेरैले उठाउँदै आएका छन् । सत्ता गठबन्धनमा रहेका कांग्रेस बाहेकका दलका नेताहरुले एमसीसीलाई परिमार्जन गरेर मात्रै पारित गरिनुपर्ने बताउँदै आएका छन् ।
अहिलेको सत्ता गठबन्धनमा कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एमसीसी पास हुनु पर्ने पक्षमै छ ।
एमसीसी संझौता हुँदा त्यतिबेला पनि देउवा नै प्रधानमन्त्री थिए । त्यसकारण यो चाँडो पारित हुनुपर्ने पक्षमा छन देउवा । सत्ता गठबन्धनमा रहेका अन्य दलहरु एमसीसी संसदबाट अनुमोदन गर्न नहुने पक्षमा रहेपनि प्रधानमन्त्री देउवा भने अब त्यसलाई जसरी पनि संसदमा लैजाने पक्षमा रहेका छन् । देउवा निकट एक नेताका अनुसार एमसीसीलाइ अब धेरै अल्झाइरहने भन्दा पनि प्रधानमन्त्री देउवा संसदको प्रक्रियामा लैजाने पक्षमा छन् । ‘कसले पक्षमा र विपक्षमा मत दिन्छ भन्ने कुरा अब संसदबाटै छिनोफानो हुन्छ गठबन्धनमा रहेका अरु दलको परीक्षा एमसीसीमा संसदमै हुन्छ’, ती नेताले लोकपथसँग भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया