बागमती प्रदेशसभा बैठक : एमाले उपस्थित नहुने संकेत, के होला विश्वासको मत ?

लोकपथ
854
Shares

काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा सत्तारुढ नेकपा एमाले अनुपस्थित हुने भएको छ ।

कार्तिक ६ गते हुने वडा र कार्तिक ९ गते हुने पालिका अधिवेशनको तयारीको लागि नेताहरु लाग्नुपर्ने भन्दै सांसदहरु उपस्थित नहुने भएका हुन् ।

बुधबार नै बागमती प्रदेश एमाले संसदीय दलले प्रदेशसभा सचिवालयमा लिखित रूपमा पत्रसमेत दर्ता गराइसकेको छ ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गरेलगत्तै कात्तिक ४ गते (आज) का बैठक बस्ने गरी स्थगित गरिएको थियो ।

आजको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रदेशसभा बैठक आगामी कात्तिक ११ गतेसम्मको लागि सार्न एमालेले प्रस्ताव एमालेले गरेको छ ।

दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत सम्बन्धी प्रस्ताव बारे छलफल र मत विभाजन हुने तय भए पनि एमाले अनुपस्थित हुने भएपछि बैठक बस्ने नबस्नेमा अन्यौलता छाएको संसद सचिवालयले जनाएको छ ।

गत भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेकपा एमाले विभाजन पछि अल्पमतमा परेकी थिइन् ।

हाल बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी १०९ सांसद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?