प्याजमा कालोबजारी, पसलैपिच्छे फरक मूल्य

काठमाडौं । पछिल्ला केही दिनयता प्याजको मूल्य निकै बढेको छ ।

दशैँअघिसम्म ४५/५० रुपैयाँमा पाइने गरेको प्याजको मूल्य बढेर अहिले नै ९० रुपैयाँसम्म पुगेको छ । प्याजको भाउ बढेलगत्तै अहिले पसलैपिच्छे फरक–फरक मूल्य छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा बिहीबार प्याजको अधिकतम मूल्य ७५ रुपैयाँ तोकिएको थियो ।

औसतमा भने ७३ रुपैयाँ तोकिएको थियो । तर खुद्रा पसलहरुमा भने ९० रुपैयाँसम्म मूल्य पर्ने गरेको छ । चाडबाडका बेला प्रायः दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने भए पनि गत असोजमा प्याजको मूल्य प्रतिकेजी ४६ रुपैयाँ थियो ।

तर एक महिना पनि पुग्न नपाउँदै प्याजको भाउ ७५ रुपैयाँ पुगेको छ । एक महिनाकै अन्तरमा प्याजको भाउ २९ रुपैयाँ प्रतिकेजी वृद्धि भएको छ । तर खुद्रा बजारमा भने उपभोक्ताले ९० रुपैयाँसम्म तिर्न बाध्य भएका छन् ।

किन बढ्यो मूल्य

अहिले प्याजको अफसिजन पनि चलिरहेको छ । त्यसका साथै भारतमै मूल्य वृद्धि भएपछि त्यसको असर स्वतः नेपाली बजारमा देखिएकोे हो । त्यसैले नेपाली बजारमा प्याजको मूल्य आकाशिएको हो ।

भारतमा अहिले प्याजको मूल्य उच्च रुपले वृद्धि भएको छ । भारतमा २० देखि २५ रुपैयाँको हाराहारीमा प्याजको मूल्य वृद्धि भएको छ । त्यसैले नेपाली बजारमा पनि त्यसको प्रभाव देखिाएको हो । कालीमाटी तरकारी तथा फलफूल विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले भारतमा मूल्य बढेकाले नेपालमा पनि मूल्य बढेको बताए ।

उपभोक्तालाई थेग्नै गाह्रो 

दशैँको पूर्वसन्ध्यादेखि अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । दशैंताका हरियो तरकारी पनि त्यसै गरी महँगिएको थियो । अहिले तरकारीको भाउ केही मात्रामा घटेको छ । चाडबाडको मुखमा अधिकांश दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढेका कारण उपभोक्तालाई चुलो बाल्नै गाहे भइरहेका बेला प्याजको मूल्यमा भएको वृद्धिले थप भार थपिएको छ‘, उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले लोकपथसँग भने, ‘बजारमा मूल्य वृद्धि छोइनसक्नु हुँदा पनि सरकार बेखबर छ ।’

बेखर सरकार

बजारमा चरम रुपमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा पनि सरकार भने बेखबर छ । सरकारको फितलो अनुगमनको फाइदा उठाउँदै व्यवसायीहरुले मनपरी मूल्य असुल्दै आएका छन् । तर सरकार भने प्रभावकारी अनुगमन गरेको जिकिर गर्न छोड्दैन ।

‘बढी मूल्य लिएको पाइएमा हामी कारबाही गर्छाैँ’, उद्योग आपूर्ति तथा वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाईले भने ।

सरकारले अनुगमन निरन्तर जारी राखेकोउनले बताए ।

आन्तरिक उत्पादनलाई बढाइने भने पनि हाम्रो मुलुक आयातमा निर्भर छ । एकाधबाहेक अधिकांश वस्तुहरु आयात हुने गरेका छन् । प्याजमा पनि नेपाल आत्मनिर्भर हुन सकेको छैन । अहिले नेपाली बजारमा पाइने अधिकांश प्याज भारतीय नै हो । स्वदेशी उत्पादनले केही मात्रामा माग धान्ने भएकाले अधिकांश हिस्सा भारतीय प्याजले ओगटेको छ । नेपालमा भारतबाट बर्षेनी २ अर्बभन्दा बढीको प्याज आउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?