कथामा फिट चलचित्रबाट हिटः कलाकारितामा यसरी स्थापित हुदैछन् महिला कलाकार

काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा मात्र होइन, विश्वकै सिनेमा बजारमा पुरुष पात्रका तुलनामा महिला पात्रको भूमिका न्यून हुन्छ भन्ने गरिन्छ । अझ महिला पात्रलाई ग्ल्यामरका रुपमा प्रयोग गरिन्छ, पुरुषलाई केन्द्रीय पात्रका रुपमा प्रयोग गरिन्छ । तर, केही महिला कलाकार भने आफ्नै नामले फिल्मसँग जोडिएर आउँछन्, उनीहरुले अरुलाई उछिनेका छन् ।

छिमेकी देश भारतको फिल्म उद्योगमा दीपिका पादुकोण, प्रियंका चोपडा, क्याटरिना कैफ, विद्या बालन लगायतका कैयन् त्यस्ता महिला सेलिब्रेटी छन्, जो फिल्मी दुनियाँमा पुरुषजत्तिकै छाइरहन्छन् । उनीहरु बार्गेनिङ गरेरै पारिश्रमिक लिने सेलिब्रेटीका रुपमा चिनिन्छन् ।

पछिल्लो केही वर्षयता केही त्यस्ता नाम नेपाली सिनेमा उद्योगमा छन्, जुन फिल्मको प्रचार तिनै कलाकारको नाम जोडिएर हुने गर्छ । अभिनेत्री रेखा थापाले अभिनय गरेका कुनै फिल्मको चर्चा या प्रचार हुने भयो भने रेखा सँगसँगै आउँछिन् । त्यसरी नै जोडिएर आएका अभिनेत्री हुन् साम्राज्ञी शाह, पूजा शर्मा, केकी अधिकारी लगायत ।
केही हप्तादेखि अभिनेत्री केकी अधिकारीको चर्चा चलेको छ, कारण – कोहलपुर एक्सप्रेस ।

फिल्मसँगै नायक तथा निर्देशकको भन्दा धेरै नाम जोडिएर आएको छ प्रियंका कार्की र ऋचा शर्माको ।

फिल्म राम्रो बन्न नसकेको भन्दै केकीलाई धेरैले औंला ताकेका छन् । फिल्मका निर्देशक विशाल भण्डारीले त्यति सुन्नुपरेन होला, जति केकीले सुन्दै आएकी छिन् ।

खासगरी नेपाली सिनेक्षेत्रमा पुरुष मेकर हाबी हुने पुरातन चलन त जगैदेखि छ नै, त्यसका अलावा महिला कलाकारले पनि उत्तिकै भूमिका ओगटेका छन् केही फिल्ममा । फिल्म ‘ऐश्वर्य’ बाट डेब्यु गरेकी दीपिका प्रसाईं उक्त फिल्ममा प्रचारको केन्द्र थिइन् । त्यस्तै ‘तिमी सँग’ मा साम्राज्ञी शाह चर्चाकी केन्द्रीय कलाकार बनेकी थिइन् । उसै गरी कोहलपुर एक्सप्रेसबाट केकी पनि कोहलपुर एक्सप्रेससँग नछुटी आएकी छिन् ।

अभिनेत्री दीपिका प्रसार्ईंले पछिल्लो पुस्ताका मेकरले खुबीलाई चिनेर त्यही अनुसार प्रचार गर्न थालेको बताउँछिन् । ‘पहिले फिल्ममा हिरोलाई नै हाइलाइट गर्नुपर्छ भन्ने चलन थियो, अहिले त्यो बिस्तारै हट्दै गएको छ, बरु ‘एबिलिटी’ लाई चिनेर फिल्मको प्रचार गरिन्छ’, प्रसाईं भन्छिन्, ‘मलाई के लाग्छ  भने, फिल्म हिट हुनुमा महिलाको पनि उत्तिकै हात हुन्छ, दुवैलाई बराबर लिएर जानुपर्छ ।’
दीपिका महिला कलाकारकै कारणले पनि फिल्मले हाइप लिन सक्छ भन्ने धारणा राख्छिन् ।

यसलाई उनले महिला सशक्तीकरणका रुपमा हेर्छिन् । र भन्छिन्, ‘फिल्मकै माध्यमबाट समाजमा महिला सशक्तीकरणलाई पनि फाइदा पुगेको छ जस्तो लाग्छ ।’

त्यसो त महिला कलाकारलाई मात्र लिएर फिल्मको प्रचार गर्न त्यति सहज लागेन अभिनेत्री केकी अधिकारीलाई । फिल्म ‘कोहलपुर एक्सप्रेस’ बाट उनी निर्मात्री बनिन् । उनीसँगै नाम जोडिएर फिल्मको भारी चर्चा पनि भयो तर केकीलाई हल पाउन गाह्रो भयो ।

‘हामी हिरोमुखी भइसकेका रहेछौं, फिल्म प्रचार गर्दा वितरक र हलवालाले फिल्ममा हिरो को छ भनेर सोध्दा आफैलाई अचम्म लाग्यो’, केकी थप्छिन्, ‘हुन त यो हिरो खोज्ने समाज नै हो, तर मार्केटिङमा गरेको दुःख बुझेर हुनुपर्छ दर्शकले फिल्म रुचाउनुभएको छ, हामीले हल पाउन जति दुःख गर्नुप–यो, यदि हाम्रो ठाउँमा चलेको कुनै हिरो भएको भए त्यति दुःख पर्दैनथ्यो होला ।’

महिला लिड (मुख्य भूमिका) मा भएको फिल्मलाई अझै पनि नेपाली दर्शकले सिधै स्वीकार नगरेको केकीको अनुभव छ । तर, कोहलपुर एक्सप्रेसले भने हिरो हाबी सोचलाई केही हदसम्म ब्रेक लगाएको केकी बताउँछिन् । ‘फिल्मका लागि हामी मार्केटिङमा पनि दौडधूप गरेका छौं, फिल्मका हल बढ्दै गएका छन्, शो हाउसफूल भएका छन् ।’, उनी कोहलपुर एक्सप्रेसको उदाहरण दिँदै भन्छिन् ।

चलचित्र ‘सुनकेसरी’ मा मुख्य भूमिका निभाएकी अभिनेत्री ऋचा शर्मा नेपालमा मात्र नभएर विश्वभर नै सिनेमामा महिलाको भूमिका शक्तिशाली हुँदै गएको बताउँछिन् । सिनेमा समाजको प्रतिबिम्ब भएको र संसारमै महिलाले हरेक ठाउँमा लिड गर्दै जाँदा त्यसको चित्र सिनेमामा देखिएको ऋचाको धारणा छ ।

‘हाम्रोमा हिरोले त्यही कुरा भन्दा सही हो भन्ने तर महिलाले त्यही कुरा भन्दा गलत भन्ने चलन छ, किनकि हामी त्यही स्कुलिङबाट आएका छौं, तर समाज बिस्तारै फेरिँदो छ, महिलाको मुख्य भूमिका रहेका फिल्म पनि हिट हुनुले त्यही बुझाउँछ’,

‘हाम्रोमा हिरोले त्यही कुरा भन्दा सही हो भन्ने तर महिलाले त्यही कुरा भन्दा गलत भन्ने चलन छ, किनकि हामी त्यही स्कुलिङबाट आएका छौं, तर समाज बिस्तारै फेरिँदो छ, महिलाको मुख्य भूमिका रहेका फिल्म पनि हिट हुनुले त्यही बुझाउँछ’, उनी हलिउड फिल्मको उदाहरण दिँदै भन्छिन्, ‘हिजो पुरुष सुपरहिरोका फिल्मको दबदबा रहँदा वन्डर वमन फिल्मले राम्रो व्यापार गर्ला भनेर कमैले सोचेका थिए, तर त्यतिबेला उक्त फिल्मले सबैभन्दा धेरै कमाउने फिलमको रेकर्ड राखेको थियो ।’

महिला मुख्य भूमिकामा भएका कलाकारलाई पनि कलाकारले उत्तिकै मान्ने र विश्वसनीय रुपमा प्रस्तुत गर्न सके दर्शकले महिला नै मुख्य भूमिकामा भएका फिल्म रुचाउने ऋचाको धारणा छ । तर, नेपाली समाज पितृसतात्मक भएकाले परिवर्तन हुन समय लाग्ने उनको धारणा छ । ऋचा भन्छिन्, ‘महिला लिड रोलमा भएको फिल्म पनि मज्जाले चल्छ सक्छ, त्यही हो, सबैले पत्याउने खालको हुनुपर्‍यो, फरक हुनुपर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?