काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरे ।
साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । उपाध्यक्षमा शेर्पा प्यानलका पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का निर्वाचित भए ।
सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार श्रेष्ठ निर्वाचित भए ।
यसअघि गत चैत ११ मा तय भएको साधारणसभा उच्च अदालत, पाटनको अन्तरिम आदेशका कारण स्थगित भएको थियो ।
त्यतिबेला ‘कार्यसमितिको निर्वाचन रोक्न माग गर्दै भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले एन्फालाई विपक्षी बनाई दायर गरेको निषेधाज्ञा मुद्दामा उच्च अदालत पाटनबाट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यसमितिको निर्वाचन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेकोमा ती जिल्लाको विवाद समाधान भएकाले आज निर्वाचन सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया