कांग्रेसका १२ केन्द्रीय सदस्यको संयुक्त वक्तव्य- ‘प्रधानन्यायाधीश जबराको विपक्षमा छौँ’

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका १२ जना केन्द्रीय सदस्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विपक्षमा धारणा राखेका छन्। शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले जबराविरुद्ध आन्दोलनरत न्यायाधीश र कानुन व्यवसायीलाई साथ दिएका हुन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका १२ केन्द्रीय सदस्यहरुले जारी आन्दोलनलाई न्यायालय शुद्धीकरणका लागि भइरहेको लडाइँ भनेका छन् ।

‘अतः अहिलेको अवस्थामा  नेपाली कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणका लागि भइरहेको लडाइँको पक्षमा उभिनु पर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो।’

न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य लिन नमिल्ने भन्दै उनीहरुले अवस्था हेरेर कांग्रेस मुकदर्शक बन्न नहुने तर्क पनि गरेका छन्।

प्रेस विज्ञप्ति

नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वतन्त्र न्यायालयको ठूलो योगदान रहेको छ। निरङ्कुशतन्त्रमा पनि न्यायालयको नेतृत्वले नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा विवेकशील र न्यायपूर्ण रुपमा आफूलाई उभ्याउँदै आएको गौरवपूर्ण इतिहास छ। यस यथार्थको उपहास हुने कुनै पनि गतिविधि हुन नदिनु हामी सबैको कर्तव्य र जिम्मेवारी दुबै हो। न्यायालयको स्वतन्त्रता र निष्पक्षता लोकतान्त्रिक शासन प्रणालीको पूर्व शर्त र प्रमुख आधार हो। यसको मर्यादालाई बचाइ राख्नु हामी सबैको राजनीतिक, सामाजिक तथा नैतिक दायित्व पनि हो।

पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन मिल्दैन। यस्तो पेचिलो परिस्थितिमा पनि केही दल मौन छन् भने केहीले विगतमा न्यायालयले गरेको संविधानको रक्षाको प्रतिशोध साँध्न खोजेका छन् र घटनाक्रमलाई विषयान्तर गर्न प्रयत्नशील छन्। यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको विषय हो उसैले जानोस् भनेर नजरअन्दाज गर्न मिल्छ? कदापि मिल्दैन। किनकी यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले,

आफ्नो जन्म कालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन ।

स्पष्ट छ, न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरण बिना न्यायपालिकाको स्वतन्त्रता सम्भव हुँदैन अनि न्यायपालिकाको स्वतन्त्रता बिना नेपाली कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव छैन । अतः अहिलेको अवस्थामा  नेपाली कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणको लागि भइरहेको लडाइँको पक्षमा उभिनु पर्छ। लोकतन्त्र र न्यायको आधारभूत मर्ममाथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनविश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो।

बीपी भन्नुहुन्थ्यो– ‘लोकतन्त्रको जग बसाल्न र यसको सुदृढीकरण गर्न न्यायपालिकाको निष्पक्षतालाई अक्षुण्ण राख्नु पर्छ। यस्ता संस्था लोकतन्त्रको मात्र होइन, राष्ट्रका सजग प्रहरी हुन।’ न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका लागि आज देखिएको समस्या हल गरेर मात्र पुग्दैन, न्यायपालिकाको निष्पक्षताका लागि संविधान, कानुन, नियत, अभ्यास, शैली र प्रक्रिया यी सबैमा गम्भीर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो छ। त्यसैले हाम्रो विनम्रतापूर्वक अनुरोध छ–  नेपाली कांग्रेसले अहिले न्यायप्रणालीका सन्दर्भमा उठेका प्रश्नलाई नजरअन्दाज नगरी समस्याको हल खोज्न जिम्मेवारीपूर्वक अबिलम्ब अग्रसरता लिनुपर्दछ। साथै विगतमा न्यायालयसँग सम्बन्धित कानुनी र अभ्यासगत रुपमा भए गरेका काम–कारबाहीबाट सिक्दै न्यायप्रणालीको संस्थागत विकास, न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रताका खातिर दीर्घकालीन समाधान खोज्नका लागि नेतृत्वदायी भूमिका पनि नेपाली कांग्रेसले लिनुपर्दछ। 

जय नेपाल

चन्द्र भण्डारी
धनराज गुरुङ
कमला पन्त
रत्ना शेरचन
गगन थापा
बद्री पाण्डे
जीवन परियार
गुरूराज घिमिरे
प्रदिप पौडेल
सरिता प्रसाई
रामकृष्ण यादव
किरण यादव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?