देख्छन् खुसी तस्बिरमा मनमा हुन्न, एकान्तमा नरोएको दिनै हुन्न । फर्केर आऊ पन्छी फर्केर आऊ शान्तिको गुँड सानु देशमै बनाऊ…
पुष्पन प्रधानको यो गीत परदेशमा बसेकाहरुको कथा हो । अझ विशेषगरी चाडपर्वका समयमा यो गीतको सान्दर्भिकता झन् बढेर आउँछ ।
काम गरेर थकित भएका परदेशीहरुलाई यो गीतले हृदय छुन्छ, सँगै गुनगुनाउँछन् अनि कतिपय भकान्निँदै घरमा फोन गर्छन् ।
यो गीतसँग मिल्ने कथा छ, अध्ययनका क्रममा अस्ट्रेलियाको मेलवर्नमा बस्दै आएकी देवी भट्टको । दुई वर्षदेखि उनी नेपाल आएकी छैनन् । दुई वर्ष भयो उनले नेपालको चाडपर्वलाई तस्बिरमा मात्र देखेको र मोबाइलमा म्यासेन्जरको भिडियोकलमा टीका लगाएको । घरलाई फोनमा हेरेको र परिवारको आवाज मात्र सुनेको । चाडपर्वका बेला घरमा नहुनुको पीडा उनले फोनबाटै सुनाइन् ।
आफ्नो परिवारसँग दशैँ, तिहार मनाउन नपाएको पीडाको शब्द सायद उनले शब्दकाषमै भेटिनन् । फेसबुकमा देखिरहने फोटोले पिरोल्छ उनलाई । परिवारसँगै एउटै तस्बिरका पाउने स्थानलाई उनी कल्पना मात्र गर्छिन् । आँखाभरि आँसु र मनभरि पीडाबाहेकका विकल्प पनि त हुँदैन परदेशीसँग । एक-दुई घण्टाको बाटो पनि त हैन आज आएर भोलि फर्कन्छु भन्नलाई ।
देशमा उच्च शिक्षाको लागि राम्रो विश्वविद्यालयहरु भएको भए र सरकारले सबै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न सकेको भए विदेशमा भएका आधा युवाहरु त स्वदेशमै हुन्थे होला ।
‘धेरै समय भयो परिवारसँग राम्रोसँग कुरा नभएको । फोनमा त कुरा हुन्छ तर नजिकै भएको महसुस भने हुँदैन । चाडबाडले रुवाउँछ ।’ खिन्न मन गर्दै उनले भनिन् । चडपर्वका बेलामा यता ‘सेलिब्रेसन’ हुन्छ भने उनलाई कामको चटारो छ ।
देउसी भैलो खेल्दाको रमाइलो, भाइटीका, लक्ष्मीपुजा गर्दाको माहोल र गाँउ नै मगमग हुनेगरी आउने सेलरोटीका बास्नालाई खुब मिस गरेको उनले सुनाइन् ।
‘देउसी भैलो खेल्दा उठेको पैसाले पछि पिकनिक जाने गरेका थियौँ । उठेका धान, चामल पनि पिकनिकमै प्रयोग गरिन्थ्यो । कुनै घरमा देउसी खेल्दा थोरै पैसा दिए भने घरको छतमा पटाका पड्काएर भाग्ने गरेका थियौँ । सबै घरमा बलेका झिलिमिली र बडार कुँडार गरेर लिपपोत गरिएका घरहरु अहिले यहाँ सम्झँदा मात्रै पनि नमज्जा लाग्छ ।
विदेशमा त हरेक दिन म एक्लै छु’, उनले आफ्नो अनुभव सुनाइन् ।
देवी त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । दशैँ, तिहार, छठजस्ता महत्वपूर्ण चाडबाड मनाउन नपाउने नेपालीहरु धेरै छन् । फरक यति हो उनीहरु बस्ने भूगोल उनीहरुले गर्ने काम, उनीहरुको परदेश जानुको कारण । तर चाडपर्वका बेला आफन्तसँग हुन नपाउनुको दुःख सबैको एउटै छ ।
धेरै परदेशीहरुको यस्तै पीडा छन् चाडपर्वमा । विदेशिएका कति नेपालीहरु स्वदेशिन्छन् भने कोही चाडपर्वका बेलामा पनि परदेशमै बस्छन् । परदेशमै रहनुको पनि आफ्नै कथा, व्यथा, बाध्यता हुन्छन् । कति नेपालीहरुले परदेशमै भए पनि चाडपर्वहरु मनाउँछन् त कतिले मनाउँदैनन् । अनि कतिचाहिँ मनाउन मन हुँदाहुँदै पनि मनाउन पाउँदैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया