काठमाडौं । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् ।
कांग्रेसको कर्णाली प्रदेशसभा संसदीय दलका नेता समेत रहेका शाहीलाई प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनले मंगलवार नै पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।
नेकपा एमालेले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिएपछि गत वैशाख ३ मा कांग्रेसले उनले विश्वासको मत लिँदा सघाएको थियो ।
महेन्द्रबहादुर २०७४ फागुन ३ मा एमाले र माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । एमाले र माओवादी मिलेर बनेको नेकपालाई गत फागुन २३ मा सर्वाेच्च अदालतले पूर्ववत् अवस्थामा फर्काएइदिएपछि २०७७ चैत ३ मा एमालेले महेन्द्रलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
त्यसको १ महिनापछि २०७८ वैशाख ३ मा महेन्द्रले विश्वासको मत लिँदा कांग्रेसले उनलाई सघाएको थियो । त्यस्तै नेकपा एमालेका माधव नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गरेर उनको सरकार जोगाएका थिए ।
त्यसबेला महेन्द्रलाई विश्वासको मत दिँदा प्रदेशसभाको बाँकी कार्यकाल आलोपालो सरकार चलाउने गरी कांग्रेस र माओवादीबीच सहमति बनेको थियो । त्यहीअनुसार कांग्रेस नेता जीवनबहादुर मुख्यमन्त्री बनेका हुन् । महेन्द्रले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
को हुन् मुख्यमन्त्री बनेका शाही ?
जीवनबहादुर शाही २०२१ फागुन २० गते हुम्लाको खार्पुनाथ गाउँपालिकाको खर्पे गाउँमा जन्मिएका थिए । उनले अमेरिकाबाट पाइलट कोर्ष पूरा गरेर नेपाल एयरलाइन्समा नोकरी पनि गरेका थिए ।
उनले राजनीति शास्त्रमा पनि स्नातकोत्तर पास गरेका छन् । उनी २०७० भएको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट हुम्लाबाट विजयी भएका थिए । उनी २०७३ मा खानेपानी तथा सरसफाइ र २०७४ मा पर्यटनमन्त्री बनेका थिए ।
केन्द्रको राजनीति गर्दै आएका शाही २०७४ को निर्वाचनमा भने प्रदेशतिर लागे । उनी कर्णाली प्रदेशको हुम्लाबाट प्रत्यक्ष निर्वाचित भएर प्रदेशसभामा प्रवेश गरेका हुन् ।
२०४६ सालबाट नेपाली कांग्रेसको राजनीतिमा होमिएका शाहीले त्यतिबेला १५ दिन र २०६२/०६३ मा तीन महिना जेलमा बिताएका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा एमाले विभाजन नहुँदा उसका २० सांसद थिए । पछि फ्लोर क्रस गरेका चार सांसदलाई एमालेले कारबाही गर्यो भने माओवादीका एक सांसद एमालेतिर लागे उनलाई पनि माओवादीले कारबाही गर्यो ।
त्यसपछि एमालेका १६ सांसद रहेका थिए । तीमध्ये पनि गत भदौमा एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेपछि ३ जना नयाँ पार्टीमा लागे । एमालेका ४ र माओवादीका एक सांसद कारबाहीमा परेपछि प्रदेशसभामा अहिले ३५ सांसद छन् ।
बहुमतको सरकार बनाउन १८ जना सांसदको समर्थन चाहिन्छ । अहिले एमालेका १३, माओवादीका १२, कांग्रेसका ६, नेकपा एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसद छन् ।
कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनमा शाहीले आज मुख्यमन्त्रीमा बाजी मारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया