सुर्खेत जिल्लाको इलाका प्रहरी कार्यालय लेकबेँसीको ड्युटी अफिसरको फोन बज्छ । फोनमा आत्तिएको आवाज आउँछ, ‘हाम्री छोरी हिजोदेखि बेपत्ता भएकी अहिलेसम्म भेटिएकी छैन । हजुरहरूले खोजिदिनुपर्यो ।’
फोनपछि इलाका प्रहरी कार्यालय लेकबेँसीका प्रहरी निरीक्षक चक्रबहादुर देउवा आफ्नो अनुसन्धान टोलीसहित लेकबेँसी नगरपालिका–१ ढापखर्कतर्फ लागे ।
यस्तो थियो घटना :
२१ गते आइतबार सुर्खेत जिल्लाको लेकबेँसी नगरपालिका–१ ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनार चाउचाउ किन्न भनेर बिहान ११ बजेतिर घरबाट निस्किइन् । मनिषा सुनारको घरबाट २० मिनेटको बाटोमा पसल थियो । पसल जान उनको घरबाट जंगलको बाटो हुँदै जानुपर्छ ।
गगनबहादुर र उनको श्रीमती पनि टीका लगाउन गएकाले घरमा बच्चाहरू मात्रै थिए । जब गगनबहादुर २२ गते घर आए होहल्ला भयो, चाउचाउ किन्न गएकी मनिषा घर नआएको थाहा पाएपछि उनीहरूले खोजीकार्य तीव्र पारे ।
धेरै बेर खाज्दा पनि नभेटेपछि उनीहरूले २२ गते प्रहरीलाई फोन गरे ।
हिजो २२ गते इप्रकाको प्रहरी मनिषालाई खोज्न मनिषाको घरतर्फ जाँदै थियो । बाटोमै उनको शव भेटिएको खबर आयो ।
मनिषाको शव घरबाट करिब सात सय मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा फेला पर्यो ।
मनिषाको शव घाँटी रेटिएको अवस्थामा झाडीमा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा कुनै धारिलो हतियार प्रयोग नभएको जस्तो देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । शरीरमा अन्य कुनै चोटपटक पनि लागेको छैन ।
मनिषाको शव हाल पोस्टमार्टमका लागि पठाइएको इप्रका लेकबेँसीका डीएसपी चक्रबहादुर देउवाले जानकारी दिए ।
‘घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ । शव पोस्टमार्टमका लागि पठाएका छौँ’, उनले भने, ‘घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिएका छौँ । उनीहरूसँग पनि अनुसन्धान भइरहेको छ ।’
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया