निर्माता र हलवालाको विवाद टुंगियो, यस्ता छन् सम्झौता

नेपाल चलचित्र निर्माता संघले आन्दोलनका कार्यक्रम घोषणा गरेको केही दिन देखि सुरु भएको वार्ताले आइतबार मूर्त रुप पाएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दुई संस्था बीचको विवाद मिलेको जानकारी दिइयो । निर्माता संघ र चलचित्र संघले संयुक्त रुपमा १७ बुँदे सम्झौता पत्रमा हस्ताक्षर समेत गरे ।

काठमाण्डौमा आयोजित कार्यक्रममा दुई संस्थाबीच गरिएको सम्झौता पत्र एक अर्कालाई हस्तान्तरण गरियो । यो सम्झौता पत्रमा अबदेखि सिनेमा घरले आफ्नो हलमा प्रर्दशन गर्ने चलचित्रको ट्रेलर, ब्यानर, पोस्टर र स्टाण्डी लगायतका प्रचार सामग्री दुई हप्तासम्म निःशुल्क प्रसारण तथा विज्ञापन गरिने उल्लेख गरिएको छ ।

यस्तै मल्टीप्लेक्स हलले सिनेमा रिलिज पश्चात प्रत्येक हप्तामा सिनेमा रिलिज पश्चात वितरकले भ्याटबिल काटेको दुई हप्ताभित्र अनिवार्य रुपमा भुक्तानि गर्नुपर्ने र सिगंल हलको हकमा भने सिनेमा उत्रेको दुई हप्ताभित्र अनिवार्य रुपमा भुक्तानि गर्ने शर्तमा मञ्जुर भएको छ ।

काठमाडौ‌ उपत्यकामा रहेका सिनेमा घरमध्ये २५० रुपैयाँभन्दा धेरै टिकट लिने या तीन वा तीनभन्दा बढी पर्दा भएका सिनेमा घरलाई मल्टिप्लेक्स हलको मान्यता दिइने पनि जानकारी गराइयो । यसै अनुसार फिल्म प्रदर्शनमा शेयरको बाँडफाँड गरिनेछ ।

निर्माता संघको मुख्य एजेण्डाको रुपमा रहेको शेयर बाँडफाँडको हकमा भने सिगल हलमा सिनेमा रिलिज अवधिभर निर्माताले ५० प्रतिशत शेयर पाउनेछन् भने मल्टिप्लेक्समा भने पहिलो हप्ता निर्माताले ५० प्रतिशत, दोस्रो हप्ता ४५ प्रतिशत, तेस्रो हप्ता ४० प्रतिशत र चौथो हप्ता देखि निर्माताले ३५ प्रतिशत सेयर पाउनेछन् । ०६० सालमा भएको सहमतिभन्दा यसपटक १० प्रतिशत बढी शेयर निर्माताको भागमा परेको छ ।

यस्तै काठमाडौंमा सञ्चालित गोपिकृष्ण मुभिजको गोपी र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल र बाराही मुभिजको क हलबाट मल्टिप्लेक्स सरहको शेयर बाँडफाँड गरिने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पत्रमा उल्लेखित सम्पुर्ण बुदा अनुसारको नियम आगामी जेठ ४ गतेबाट लागू हुने निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी गराए ।

यस्ता छन् निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौताः

१. कुनै पनि चलचित्र घरले आफ्नो हलमा प्रदर्शन गर्ने चलचित्रको ट्रेलर , ब्यानर, पोष्टर र स्टाण्डी समेतको प्रचार प्रसार समाग्रीको दुई हप्तासम्म निःशुल्क सेवा प्रदान गर्ने गराउनेछ ।

२. मल्टी प्लेक्स चलचित्र घरको शेयरको रकम प्रत्येक हप्तामा चलचित्र प्रदर्शन पश्चात् वितरकले भ्याट बिल जारी गरेको दुई हप्ता भित्र अनिवार्य रुपमा भुक्तानी गर्नु पर्नेछ । सिंगल स्टेशनको हकमा चलचित्र उत्रेको दुई हप्ता भित्र भुक्तानी गर्नु पर्नेछ । यो अवधि भित्र भुक्तानी नभएमा संयुक्त कार्यदलले गरेको निर्णय अनुसार हर्जाना सहित कारबाही गर्ने गराइनेछ ।

३. चलचित्र घरले आफ्नो चलचित्र घरमा रहेका क्याबिनको हिसाब समेत उपलब्ध गराउनु पर्नेछ ।

५. चलचित्र घरहरुले कुनै पनि हलभाडा वा हल खर्चको नाममा खर्च काट्न पाइने छैन ।

६. काठमाण्डौ उपत्यका भित्रका चलचित्र घरहरुमा टिकट दर रु. २५०।०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिनेछ । उपत्यका बाहिरको हकमा टिकरट दर रु. २००।०० वा ३ वा ३ भन्दा बढी चलचित्र भवन रहेको चलचित्र घरलाई मल्टिप्लेक्सको मान्यता दिइनेछ ।

क. मल्टिप्लेक्स चलचित्र घरहरुको नेट शेयर बाँडफाँड पहिलो हप्ता ५० प्रतिशत । दोश्रो हप्ता ४५ प्रतिशत तेश्रो हप्ता ४० प्रतिशत चौथो हप्ता देखि ३५ प्रतिशत वितरक (निर्माता) ले पाउनेछ ।

ख. सिंगल चलचित्र घरको नेट शेयर बाँडफाँड पचास पचास प्रतिशतको आधारमा हुनेछ ।

ग. उपत्यका भित्र गोपीकृष्ण मुविजको गोपी हल र कृष्ण हल, अष्टनारायणको क र ख हल, गुण सिनेमाको क, ख र च हल तथा बारही मुविजको क हललाई मल्टिप्लेक्स सरहको शेयर बाँडफँड गरिनेछ ।

घ. उपत्यका बाहिरको हकमा पोखराको श्रीकृष्ण, बाराही चलचित्र घरको क र ख लाई मल्टिप्लेक्स सरहको शेयर बाँडफाँड गरिनेछ ।

ङ. बुँदा नं ६ मा उल्लेख भए बमोजिम अन्य चलचित्र घरहरुले भौतिक पूर्वाधार पूरा गरेमा मल्टिप्लेक्सको मान्यता हुनेछ ।

७. नेपाल चलचित्र निर्माता संघको आधिकारिक सदस्यलाई नेपाल चलचित्र संघले मान्यता दिइनेछ । नेपाल चलचित्र संघका आधिकारिक सदस्यलाई नेपाल चलचित्र निर्माता संघले मान्यता दिइनेछ ।

८. निर्माता र वितरक तथा वितरक र प्रदर्शकको बीचमा चलचित्र प्रदर्शन अगावै अनिवार्य रुपमा सम्झौता गर्नु पर्नेछ । सम्झौताको नमूना संयुक्त कार्यदलले तयार गर्नेछ ।

९. चलचित्र घरले निर्माता वा वितरकको अनुमति विना पास जारी गर्न पाइने छैन । यस सम्बन्धमा विवाद भएमा कार्यदलमा छलफल गरिनेछ ।

१० यस अघि विभिन्न मितिमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच चलचित्र प्रदर्शन सम्बन्धमा भए गरिएका सहमति र सम्झौताहरु यो सम्झौताहरु लागु भएपछि स्वतः खारेज हुनेछन् ।

११. सबै निर्माता, वितरक तथा प्रदर्शक अनिवार्य रुपमा पारदर्शी व्यपारमा जानु पर्नेछ ।

१२. चलचित्र निर्माताले वितरकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ । वितरकले शेयर रकम लिँदा प्रदर्शकलाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्नेछ ।

१३. बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिबद्धता रहेकोछ ।

१४. यो सम्झौता मिति २०७५ साल जेष्ठ ४ गते देखि लागु हुनेछ ।

१५. यो सम्झौताको अवधि २ (दुई) वर्षको हुनेछ ।

१६. डि. सि. पी. फाइल तथा भि. पी. सी. र के डी. एम. को विषयमा सरोकारवालासंग दुबै पक्षले छलफल गरी निर्णय गरिनेछ ।

१७. यो सम्झौतालाई अक्षरसः पालना गर्ने गराउने विषयमा दुबै पक्षले प्रतिवद्धता व्यक्त गर्दछौँ ।

१८.निर्माता, वितरक र हल सञ्चालकको त्रिपक्षिय सहमतीमा हलमा लागेका फिल्मको टिकट दर तोक्न सकिनेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?