मुलुकको अर्थतन्त्र जटिल अवस्थामा : मुख्य सूचकहरु नकारात्मक

लोकपथ
70
Shares

काठमाडौं। मुलुकको आर्थिक अवस्था जटिल बन्दै गइरहेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिना (असोज)को मुलुकको आर्थिक अवस्थाले यस्तो देखाएको हो । यस अवधिमा अर्थतन्त्रका मुख्य सूचकहरु नकारात्मक भएपछि अर्थतन्त्र जटिल बन्दै गएको हो ।

घाटा ५८.३ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७८–७९ को तीन महिनामा कुल वस्तु व्यापारघाटा ५८.३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा व्यापारघाटा ४ खर्ब १३ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.१ प्रतिशतले घटेको थियो ।

आयात

यस अवधिमा निर्यात–आयात अनुपात १३.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.६ प्रतिशत थियो । त्यस्तै, यस अवधिमा कुल वस्तु आयात ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२.७ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८.४ प्रतिशत, ५५.२ प्रतिशत र १२४.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, कच्चा पाम तेल, सुनलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, रासायनिक मल, दाल,मोलासिस सुगर, सुर्तीलगायतका वस्तुको आयात घटेको छ । कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

निर्यात
चालू आर्थिक वर्षको यस अवधिमा कुल वस्तु निर्यात १०९.५ प्रतिशतले वृद्धि भएर्को छ । यस अवधिमा ६५ अर्ब ५ करोड रुपैयाँबराबरको निर्यात भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १४७.१ प्रतिशत, १९.४ प्रतिशत र २७.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुटका सामानलगायतका वस्तुको निर्यात बढेको छ भने चिया, अलैँची, जस्तापाता, तार, आयुर्वेदिक औषधिलगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै, कन्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

शोधनान्तर स्थिति ६ अर्ब १४ करोड घाटामा

चालू आर्थिक वर्षको तीन (असोज) महिनामा शोधनान्तर स्थिति ६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १०१ अर्ब ९ करोडले बचतमा रहेको थियो ।

चालू खाता १ खर्ब ५१ अर्बले घाटामा

त्यस्तै,यस अवधिमा चालू खाता १ खर्ब ५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । त्यस्तै, यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमाप्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ९२ करोड रहेको थियो ।

रेमिट्यान्स

चालू आर्थिक वर्षको तीन महिना (असोज)मा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ७.६ प्रतिशतले घटेको छ । यस अवधिसम्म २ खर्ब ३९ अर्ब ३२ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिेमिट्यान्स१२.७ प्रतिशतले बढेको थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६,३१६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४,८२३ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो ।

विदेशी विनिमय सञ्चिति

चालू आर्थिक वर्षको तीन महिनामा विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले घटेको छ । यस अवधिसम्ममा विदेशी विनिमय सञ्चिति १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब २ करोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?