गौशाला । तराईमा बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल, जलेश्वरमा कुकुरले टोकेको बिरामीको संख्यामा अप्रत्यासित रुपमा वृद्धि भएको छ ।
यसअघि फाटफुट रुपमा कहिलेकाही मात्र एक–दुईजना कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल, जलेश्वरमा अहिले दैनिक औसतमा एक दर्जन त्यस्ता बिरामी आउने गरेको अस्पतालका डा मृत्युञ्जय ठाकुरले बताए ।
उनले बढ्दो गर्मीसँगै अहिले कुकुरको मानसिक अवस्था बिग्रिने गरेकाले कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अहिले जिल्ला अस्पतालमा दैनिक कुकुरले टोकेका बिरामीको चाप बढेको बताए ।
दस नगरपालिका र ५ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनुका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख डा राजीव झाले बताए ।
उनका अनुसार अप्रत्यासित रुपमा कुकुरले टोकेका बिरामी बढेपछि अहिले कुकुरले टोकेका बिरामीलाई चिकित्सकले विशेषरुपमा ध्यानापूर्वक सेवा दिइने गरेको बताए ।
कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज) सम्म भ्याक्सिन दिनुपरेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया