उकालो लाग्दै मूल्यवृद्धि : उपभोक्तालाई धान्नै धौधौ

लोकपथ
105
Shares

काठमाडौं । पछिल्लो समय महँगी यतिसम्म बढेको छ कि सामान्य व्यक्तिलाई गुजारा चलाउनै धौधौ भएको छ ।

अहिले बजारमा दैनिक उपभोग्य वस्तु दाल, चामल, घिउ, तेल, साबुन, सर्फलगायतका वस्तुहरूमा मूल्य बढेर छोई नसक्नु भएको छ । त्यसैमाथि तरकारी तथा फलफूलको सिजन सुरु हुँदा पनि अझै बजारमा चर्काे मूल्य यथावत छ ।

चालू आर्थिक वर्षको दोस्रो महिनाको तुलनामा तेस्रो महिनामा अधिकांश दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन (असोज) महिनामा
घिउ तथा तेल, माछा तथा मासु, दाल तथा गेडागुडी, सुर्तीजन्य, गैरमदिराजन्य पेय पदार्थ उपसमूहको मूल्य वृद्धि क्रमशः ३१.६८ प्रतिशत, ११.९३ प्रतिशत, १०.७१ प्रतिशत, १०.१२ प्रतिशत र ९.६३ प्रतिशत भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

सबैभन्दा बढी महँगी पहाडमा 

चालू आर्थिक वर्षको तीन महिनामा पहाडी क्षेत्रमा सबैभन्दा महँगी बढेको छ । यस अवधिमा पहाडी क्षेत्रमा ५.६८ प्रतिशत महँगी रहेको छ । पहाडमा गत भदौमा ३.०३ प्रतिशत मूल्यवृद्धि भएको थियो । गत वर्षको यसै अवधिको तुलनामा असोजमा २.६५ प्रतिशत बिन्दुले महँगी बढेको छ ।

त्यस्तै, तराईमा ४.०१ प्रतिशत, काठमाडौं उपत्यकामा ३.४८ प्रतिशत र हिमालमा ३.१२ प्रतिशत मूल्यवृद्धि भएको छ । गत वर्षको असोजमा यी क्षेत्रहरूमा क्रमशः ३.३५ प्रतिशत, ४.४६ र ४.३९ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.७९ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.७२ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
उपभोक्तालाई गुजारा चलाउनै धौधौ 

बजारमा अधिकांश दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएपछि सर्वसाधारणलाई गुजारा चलाउनै धौधौ भएको छ । कोरोनाका कारण सर्वसाधारणको आर्थिक अवस्था कमजोर बन्दै गइरहेको छ । एकातिर आर्थिक अवस्थामा ह्रास आउनु र अर्कातिर उच्च रुपमा बढेको महँगीले सर्वसाधारणलाई दैनिक गुजारा चलाउन धौधौ भएको हो ।

सरकारलाई छैन चासो 

उपभोक्ताले धान्नै नसक्ने गरी मूल्यवृद्धि हुँदा पनि सरकारलाई भने कुनै चासो छैन । सरकारको कमजोर अनुगमन प्रणालीका कारण आम उपभोक्ता यतिखेर चर्को महँगीको भार थेग्न बाध्य भएका छन् । व्यापारीले आफुखूशी मूल्यवृद्धि गर्ने तर सरकारले वास्ता नगर्ने गरेका कारण उपभोक्ता सधैँ मारमा पर्नेगरेका छन् ।

व्यापारी तथा व्यवसायीहरूले सबै प्रकारका खाद्यान्न, दाल चामल, खानेतेल, चिनी र गेडागुडीलगायतका वस्तुमा मूल्यवृद्धि गरेका छन् । त्यसैमाथि सिजनमा पनि हरियो तरकारीको मूल्य अत्यधिक बढ्दा सर्वसाधारणको चुलो बल्नै नसक्ने अवस्थामा पुगेको छ ।

सरकारले बेला–बेखतमा गर्नेगरेको नाम मात्रैको अनुगमनले न त प्रभावकारी रुपमा बजार अनुगमन हुन सकेको छ न त आम सर्वसाधारणले राहत महसुस नै गर्न सकेका छन् । सरकारले चाडबाडका बेलामा मात्रै बजार अनुगमन गर्नेगरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?