काठमाडौं । निर्मातालाई हलवालाले रगत चुसेझैं चुसेका छन् । हलवालाले निर्मातालाई मारमा पारेका छन् भनेर निर्माताले आवाज उठाउँदै आएका छन् । तर, हलवाला भने फिल्मबाट आफूले खासै कमाइ गर्न नसकेको बताउँछन् । फिल्म निर्माताको मुख्य कमाइ गर्ने हल काठमाडौंका हल बनेका छन् । शेयर पनि कम पाएको, हलमै प्रदर्शन गर्ने सिनेमाको ट्रेलरको समेत पैसा तिर्नु परेको लगायतका दजर्नौं गुनासा निर्माताले गर्दै आएका थिए ।
यही गुनासालाई सम्बोधन गर्न निर्माताले आन्दोलनका कार्यक्रम पनि घोषणा गरे । तर, अहिले निर्माता र हलवालाबीचको वार्ता मिलेको छ । निर्माताले मागेका केही मागलाई सम्बोधन गर्दै हलवालाले वार्ता मिलाए ।
लामो समयदेखि जारी निर्माता संघ र चलचित्र संघको वार्ताले आइतबार मुर्तरुप पाएको छ । जहाँबाट हलवाला र निर्माता संघबीच १८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौताबाट धेरै सिनेमाका निर्माता निर्देशक खुशी छैनन् । यसको पुष्टि उनीहरुले समाजिक सञ्जालमा लेखिएको स्टाटसले प्रष्ट पारेको छ । तर, केही निर्माता भने हलवाला र निर्माताबीच भएको सम्झौताबाट खुशी देखिएका छन् ।
मल्टिप्लेक्स हलवालाले निर्मातालाई सिनेमा रिलिज गरेको एक हप्तामा वितरकले भ्याटबिल काटेको दुई हप्ता भित्र शेयर दिनुपर्ने भएपनि पहिलो हप्ता ५० प्रतिशत, दोस्रो हप्ता ४५ प्रतिशत, तेस्रो हप्ता ४० प्रतिशत र चौथो हप्तामा ३५ प्रतिशत मात्रै शेयर निर्मातालाई बुझाउने कुरामा सम्झौता भएको छ । जबकि ०६० सालमा गरिएको सम्झौतामा निर्माताले ५५ देखि ६० प्रतिशतसम्म शेयर पाउनुपर्ने उल्लेख गरिएको छ । हलवालाले ४० देखि ४५ प्रतिशत सेयर राख्न पाउने व्यावस्था गरिएको छ ।
चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय भन्छन्, ‘हामी व्यावसायिक हौँ, हामीले तिनै सिनेमा हलबाट आफ्नो दैनिकी चलाउनु पर्ने हुन्छ ।’ ‘त्यसैले अहिलेको स्थितिमा कुनैपनि हल मालिकले विशुद्ध हलमात्रै चलाएर आफ्नो दैनिकी चलाउँछु भन्नु मूर्खता हो’,उनी अगाडि थपे, ‘त्यो हल मालिक जो कोही होस् उसले भोलि देखि नै हलमा ताला लगाएर हिड्ँनु पर्ने हुन्छ, हललाई मेन्टेन गर्न र आफ्नो दैनिकी चलाउन पनि हल मालिकले विज्ञापन, क्याविनमा फुड कर्नर चलाउन आवश्यक छ ।’ यदि कुनै दर्शकलाई विज्ञापन लामो लाग्छ भने विज्ञापन नबज्ने हलमा गएर फिल्म हेर्न पनि उनी आग्रह गर्छन् । आफू पालिनका लागि हलमा विज्ञापन बजाउनु परेको उनी बताउँछन् । ‘एउटा व्याक्तिले अन्नपूर्णमा कफी पिउँदा पाँच सय पर्छ, त्यही कफी अन्य ठाँउमा खाँदा सय रुपैयाँ पर्ला, त्यो मान्छेमा भर पर्ने कुरा हो, उसले कफी कहाँ खाने भन्ने कुरा दर्शकको हो ।’, उनी सुनाउँछन् । दर्शकले आफ्नो रोजाई अनुसार छानी छानी कफी खान छुट भएझैं फिल्म हेर्न छुट भएको उनी बताउँछन् ।
यस्तै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारले यो सम्झौता एक दुई ओटा ठूला र सिनेमा निर्माण गरेर करोडौँ कमाउने निर्माताका लागि मात्रै नभई सम्पूर्ण निर्माताको हितमा यो सम्झौता गरिएको बताउँछन् । ‘हामी अहिले ऐट केक्यामेराले सिनेमा खिचेर ७ साय २० फाइलमा देखाइ रहेका छौँ’, उनी थपे, ‘यो सिस्टमलाई बिस्तारै विश्वका सम्पूर्ण सिनेमाहलहरु बाट हटाइँदै छ, नेपालमा पनि चाँडै यो सिष्टम लागु हुन्छ, जुन सिनेमा घरले टुके सिस्टम जडान गर्दैनन् उनीहरुलाई निर्माता संघले सिनेमा दिँदैन’, ‘यसो गर्दा कि उहाँहरुले पनि टुके सिस्टम जडान गर्नु हुन्छ कि हलबन्द गर्नु हुन्छ, सिस्टम चेन्जगर्न केही समय लाग्ने भएकोले केही समय पर्खिन उनले सम्पूर्ण दर्शक तथा सिनेमाकर्मीलाई आग्रह गर्छन् ।
यी सबै कुरा र गरिएको सम्झौता पत्रलाई हेर्दा ठूला र सफल सिनेमा निर्माण गर्ने निर्मातालाई यो सम्झौताले खासै फाइदा नभएपनि कमचल्ने र साना निर्माताको लागि भने यो सम्झौता फाइदा नै पुर्याउने देखिन्छ ।
निर्मातालाई फाइदा के ?
यो सम्झौताले केही हदसम्म निर्मातालाई फाइदा पुग्ने देखिन्छ । किनकि यस अगाडि निर्माताले पोस्टर, ब्यानर र ट्रेलर लगायतका प्रचार प्रसारमा खर्च गर्ने दशदेखि पन्ध्र लाख रुपैयाँ सिधै निर्माताको खल्लीमा जाने छ । यसअघि निर्माताले सिनेमा राम्रो चल्ने हलमा प्रचार सामग्री प्रसारण गर्दा होस् वा पोस्टर राख्दा होस् यस वापत सिनेमा हललाई लाखौँ रुपैयाँ तिर्दै आइरहेका थिए । यदि सिनेमा चलेको खण्डमा निर्माताले सिनेमा हलबाट राम्रै शेयर हात पार्ने सम्भावना छ । अहिलेको सम्झौता २०६० सालको भन्दा फरक नभए पनि यदि कार्यन्यन राम्रोसँग भएको खण्डमा कम आशा गरिएका र ठीकै मात्रै चलेका भनिने सिनेमाले पनि निर्माताको हातमा राम्रै रकम फिर्ता गर्नेछन् । यदि कार्यान्वयन नभएर सम्झौतामा मात्रै लागू भएको खण्डमा यो सम्झौताले निर्मातालाई हात्ती आयो हात्ती आयो फुस्स मात्रै हुनेछ ।
फिल्म नचल्दा हलवालालाई फाइदा
यता सिनेमा हल सञ्चालकलाई भने यो सम्झौताले राम्रै फाइदा हुने देखिन्छ । यदि सिनेमा राम्रो चलेको खण्डमा सिनेमाबाट राम्रै शेयर पनि पाउने सिनेमा चलेन भने सिधै हलबाट सिनेमामा उतारेर अर्को सिनेमा चलाउन पाउँछन् । त्यसैले पनि राम्रो चल्ने हलको मालिकले एउटा सिनेमा चलाएर राम्रै नाफा कमाउने पक्का छ । यो सम्झौताले सिंगल हल सञ्चालकलाई भने खासै फाइदा हुने छैन । किनभने सिंगल हल मालिकले जबसम्म हलमा सिनेमा चलाउँछ, तब सम्म उसले निर्मातालाई ५० प्रतिशत सेयर दिनुपर्ने हुन्छ । यसैले गर्दा राम्रो चल्ने सिनेमाले सिंगल हलबाट राम्रो शेयर पाउने छन् भने ठिकै चल्ने सिनेमाबाट निर्माता र हल मालिक दुवैलाई खासै नाफा हुने देखिँदैन । यसैले सम्झौताले ठूला निर्मातालाई घाटा लागे पनि मल्टिप्लेक्स सिनेमा घरलाई भने चिठ्ठा नै परेझैं भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया