नेपाली कलाकारको विदेश मोह, नेपालमा भविष्य नभएकै हो?

काठमाडौं । फिल्म ‘होलिडे’ का छायाकार दिनेशकुमार राई शुटिङका लागि युरोप पुगेका थिए । निर्माण टिम फर्कनुपर्ने बेलामा उनी एकाएक फरार भए । उनी सम्पर्कमा नआएपछि युरोपमै लुकेर बसेको अनुमान गरियो ।

आधिकारिक सूचना नभएपनि उनी युरोपमै लुकेका छन् । त्यतिबेला उनी लुकेपछि फिल्म निर्माण टिमलाई तनाव भएको थियो । फिल्मका निर्देशक बसन्त निरौलाका अनुुसार उनी चकलेट किन्न जान्छु भन्दै गएका थिए । तर, फर्किएनन् ।

त्यस्तै, नेपाली फिल्ममा लामो समय खलनायकी छाप बनाएका अभिनेता राजेन्द्र खड्कीलाई प्रहरीले पक्राउ ग¥यो, तर उनलाई पक्राउ गर्दा कार्यक्रमको बहानामा मानिस विदेश पगाएको आरोप लगाइएको थियो । उक्त घटनापछि जापान, कोरिया तथा अन्य देशका राजदुतावासले कलाकारलाई विदेश जाँदा पनि बढी केरकार गर्न थाले ।

किनकि, एउटा काम देखाएर विदेश पुगेका कलाकार उतै ‘गायब’ हुन थाले । लुकेर बस्ने कलाकारको सङ्ख्या बाक्लो भयो ।

यसरी कलाकारको आडमा आम नेपालीसमेत विदेश छिर्ने प्रवृत्ति त भयो नै । अर्कोतिर कलाकार विदेशमै ‘सेफ ल्याण्डिङ’ पनि खोज्न थालेका छन् ।

पोखराको आरजे जीवन हुँदै फिल्मका हिरो बनेका राजवल्लभ कोइराला केही समयअघि नेपाल घुमघाममा आए । ‘पर्खी बसें’, ‘छोडी गए पाप लाग्ला’, ‘ऋतु’, ‘६ एकान ६’ लगायतका फिल्ममा अभिनय गरेका अभिनेता कोइराला अहिले अमेरिकामै बसोबास गर्दै आएका छन् । नेपालमा भन्दा धेरै उतै हुने कोइराला पछिल्लो समय फिल्ममा पनि त्यति सक्रिय देखिँदैनन् ।

चलचित्र ‘साँघुरो’ हेरिसकेपछि अभिनेता सुशांक मैनालीले अभिनयमार्फत राम्रै तारिफ कमाए । सामान्य कथामा निर्माण भएको यो फिल्ममा उनको भूमिकाले फिल्मलाई न्याय दियो भन्दै चर्चा भयो । तर उनले अभिनय गरेका अन्य फिल्मले भने ‘साँघुरो’ ले जस्तो चर्चा दिन सकेनन् । उतिबेलै अमेरिका भासिएका सशांक लामो समय भइसक्दा पनि नेपाल फर्केका छैनन् ।

विदेश भासिने र उतै हराउनेको भीड त्यति सानो भने छैन । चर्चित लोकगायक प्रेमराजा महतका गीत युट्युबमा अहिलेको पुस्ताले उत्तिकै रुचाउँछ । उनले गाएका सिमसिमे पानीमा, बाँझो खेतमा जस्ता लोकगीत उत्तिकै लोकप्रिय छन् । लोकगीतको शुरुवाती मौसमलाई हराभरा बनाउन काँध थापेका यी गायक खुसुक्क अमेरिका छिरे । अहिले उनै उतै रमाइरहेका छन् । सम्भवतः उनको अबको नेपाल बसाइ भ्रमणका लागि मात्रै हुनसक्छ ।

त्यस्तै, फिल्ममा देशप्रेमको खोजी गर्ने अभिनेता सुवास थापा पनि लामो समयदेखि अमेरिकामै छन् । उनको फिल्म ‘बिर्खेलाई चिन्छस्’ ले धेरथोर उनलाई ‘बिर्खे’ का रुपमा चिनारी त दियो, तर उनले अर्को पात्रको जन्म दिएनन् फिल्मका लागि । बरु उनी अमेरिकातिरको बाटो रोजे । उनी नेपाल आएको भनेर सुनिँदैन खासै ।

कुनै समयका चर्चित अभिनेता मुकेश ढकाल, सुरेश दर्पण पोखरेल, शंकर घिमिरे लगायतका कलाकारले पनि विदेशी माटोमै आफ्नो भविष्य खोजिरहेका छन् ।

अभिनेत्रीहरूमा एकछत्र राज गरेका अघिल्लो पुस्ताका कलाकारमध्ये धेरै कलाकार विदेशी भूमिमै आफूलाई स्थापित गरेका छन् । तर, ती कलाकारले विदेशी सिनेमा उद्योगमा आफूलाई अटाउन सकेका छैनन् ।

नायिका ऋचा घिमिरे, युना उप्रेती, सौजन्य सुब्बा, अरुणिमा लम्साल, नन्दिता केसी, जल शाह, रञ्जना शर्मा लगायतका कैयन् अभिनेत्री एकसाथ फिल्म क्षेत्रमा जमेका चर्चित कलाकारमा गनिन्छन् । तर सबै कलाकार अहिले फिल्म क्षेत्रबाट टाढा भएका छन् । र, आफ्नो नयाँ जीवनको ‘सेटलमेन्ट’ मा लागिपरेका छन् ।

पछिल्लो समय मल्टिपल भिसा पाएकी वर्षा शिवाकोटीको उदाहरण होस् या नायिका निशा अधिकारीको कुरा होस् । यी दुवै नायिकाको अमेरिका मोह पनि बाक्लिँदै गएको छ । अझ निशा अधिकारीले त आफ्नो बच्चालाई समेत अमेरिकामै जन्माएकी छिन् । लामो समयदेखि उनी आफूलाई अमेरिकामा जन्माउन चाहेको बताएकी थिइन् । अमेरिकामा जन्मेका बच्चालाई अमेरिकी नागरिक दिने नियमका कारण उनले अमेरिकामा बच्चा जन्माउने निर्णय गरेको चर्चा पनि फिल्म वृत्तमा चलेको छ ।

विदेशी मोह बाक्लो हुँदै जानु एकातिर छ, अर्कोतिर विदेश पुगेर नेपाल फर्किएका कलाकारका नाम पनि छन् केही । तर, नेपाल फर्किने सबै कलाकार राष्ट्रमोहले मात्र नभएर कागज नमिलेर नेपाल फर्किएको भन्ने चर्चा पनि उत्तिकै छ । भलै, लामो समय अमेरिका बसेर नेपाल फर्कनेले देशका लागि फर्केको बताउँदै आएका छन् । अभिनेता सरोज खनाल, रमेश उप्रेती, राजाराम पौडेल, करिश्मा मानन्धर, गौरी मल्ल लगायतका सेलिब्रेटी भने नेपाल फर्केका छन् र अभिनयमा पनि सक्रिय छन् ।

‘नेपालमा कलाकारको आर्थिक भविष्य छैन’

हास्य अभिनेता राजाराम पौडेल कलाकार विदेशिनुमा उनीहरूको बाध्यता पनि रहेको बताउँछन् । ‘नेपालमा कला क्षेत्रको आम्दानीले बाँच्न सक्ने अवस्था कमैमात्र कलाकर्मीलाई छ,’ उनी भन्छन् । 

यसबाहेक नेपालमा बेरोजगारी र क्षमता अनुसारको रोजगारी नपाउनुले पनि विदेश भासिने प्रवृत्तिलाई मलजल गरेको तर्क उनको छ । यद्यपि, उनी थप्छन्, ‘कलाकार बाहिर बढी प्रचारमा आउने भएकाले पनि उनीहरूको चर्चा धेरै हुन्छ, विदेश जाने त सबै हुन्छन् नि डाक्टर, इन्जिनियर, कर्मचारी आदि !’

यता वरिष्ठ संगीतकार टिका भण्डारी आर्थिक लगायतका उच्च महत्वकांक्षाका कारण पनि कलाकारको विदेश मोह बढेको धारणा व्यक्त गर्छन् । ‘आफ्नो सामाजिक लोकप्रियता अनुसार कमाईले धान्न सक्ने अवस्था नभएका कारण पनि कतिपय कलाकार विदेशिएका देखिन्छन्,’ उनी भन्छन् । 

मुलुकको शासकीय अक्षमताका कारण पनि कलाकारहरू विदेशीन बाध्य भएका उनको तर्क छ । अन्य मुलुकमा यस्तो अवस्था कमैमात्र देखिने उनी बताउँछन् । यस्तो ‘ब्रेनड्रेन’ रोक्ने सम्बन्धमा राज्यले सोच्नुपर्ने उनको भनाइ छ । 

यद्यपि, कलाकारले आफ्नो जीवन र लोकप्रियतालाई आर्थिक हिसावमा साट्नु पनि गलत भएको उनको तर्क छ । ‘म पनि धेरै समय विदेश गएँ, केही समय उतै बसें पनि, तर मैले अनुभव र घुम्ने रुपमामात्रै त्यसलाई उपयोग गरें,’ उनी भन्छन्, ‘विदेशमा घुम्ने कुरालाई उतै सेटलमेन्टतिर लानु उचित होइन, म त सन्तान र अरुलाई पनि विदेशमा जिन्दगी साँटन नहुने सुझाव दिन्छु ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?