नेता ट्रम्प र किमको वार्ता मिलाउन दक्षिण कोरियाली नेता अमेरिकामा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको सिंगापुरमा हुने शिखर वार्तामा देखिएको अनिश्चितता हटाउन दक्षिण कोरियाली राष्ट्रपति मून जाए अमेरिका पुगेका छन् ।

मंगलबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटघाट गरी जुन महिनामा हुने भनिएको सो वार्तालाई सुनिश्चित गर्ने मूनको प्रयास हुनेछ ।

समाचारमा जनाइएअनुसार गतसाता उत्तर कोरियाली एक बरिष्ठ नेताको अभिव्यक्तिबाट ट्रम्प चकित तथा क्रोधित बनेका छन् । ती नेताले एकतर्फीरूपमा उत्तर कोरियाले आफ्नो परमाणु हातहतियारसम्बन्धी कार्यक्रमबाट नहटने जनाएपछि ट्रम्प क्रोधित भएको अमेरिकी मिडियाले जनाएको छ ।

ट्रम्प र किमबीच  जुन १२मा सिंगापुरमा भेटवार्ता हुने भएको छ ।

उत्तर कोरियालीहरूका अनुसार अमेरिकाले पनि आफ्नो सैनिक उपस्थिति यो क्षेत्रबाट फिर्ता लानु पर्ने हुन्छ । यता दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाली नेता किम आफ्नो परमाणु कार्यक्रम हटाउन तयार रहेको जनाएका छन् ।

दक्षिण कोरियाली राष्ट्रपतिसँगको भेटमा उत्तार कोरियाली नेताले यस्तो  बताएका हुन् । ट्रम्पसँगको भेटमा मूनले यो विवाद र तनाव हटाउन विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?