गर्भपतनको पक्षमा आयरल्याण्डबासीको मतदान

डब्लिन : आयरल्याण्डमा गर्भपतनसम्बन्धी कानूनमाथि भएको जनमत संग्रहको शुरुवाती औपचारिक नतिजामा ६० प्रतिशत मतदाताले कानूनलाई उदार बनाइनुपर्ने पक्ष अर्थात् गर्भपतनलाई मान्यता दिइनुपर्ने पक्षमा मतदान गरेको देखिएको छ । 

बहुमत जनताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका सङ्केत शुरुवाती नतिजाले देखाएको हो । 

आएरल्याण्डका ४० निर्वाचन क्षेत्रमध्ये पश्चिमी एक निर्वाचन क्षेत्रमा ६३ प्रतिशत मतदाताले मतदानमा भाग लिएका थिए जहाँ मतदानको ६० प्रतिशत नतिजा गर्भपतनलाई कानूनी मान्यता दिनुपर्ने पक्षमा देखिएको छ । 
गर्भपतनसम्बन्धी कानूनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका आयरल्याण्डका प्रधानमन्त्री लीओ भराडकरले मुलुकले ’इतिहास रच्न लागेको’ बताएका छन् । 

शुक्रवारको जनमत संग्रहमा मतदाताहरूलाई आठौँ संशोधन भनिने संविधानमा भएको प्रावधान हटाउनुपर्छ वा राख्नुपर्छ भन्ने प्रश्न सोधिएको थियो । 

संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ । 

द आइरिस टाइम्स र आरटीइले गरेको मत सर्वेक्षणका अनुसार ६९ प्रतिशत मतदाताले गर्भपतनमाथि सशक्त प्रतिबन्ध लगाएको संवैधानिक व्यवस्था हटाउने पक्षमा मतदान गरेका बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?