रोल्पामा खडेरी, खानेपानीको हाहाकार

रोल्पा : लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । 

अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल हिँडेर पानी ल्याउन विवश भएका छन् । घरमा भएको धारामा पानी आउन छाडेको एक महिनाभन्दा वढी भएकाले तीन घण्टा पैदल हिँडेर पानी ल्याउन बाध्य भएको परिवर्तन गाउँपालिका, रांसीचौरका ललित क्षेत्रीले बताए ।

लामो खडेरीसँगै पानीका मुहान सुक्न थालेपछि खानेपानीमा सकश परेको छ, क्षेत्रीले भन्नुभयो । सोही गाउँपालिका कालावाङवासी बिहान उठ्ने बित्तिकै डोकामा गाग्रो बोकेर पानी लिन निस्कन्छन् । एक गाग्रो पानी लिन जाँदा आउँदा तीनघण्टा लाग्ने गरेको र एकघर एक धारा अन्तर्गत तीन महिना अघि जडान गरिएका धारामा पानी आउन छाडेको स्थानीयले बताएका छन् ।

मानिसले पिउनका लागि जसोतसो टाढाको मुहानबाट पानी ल्याएपनि पशुबस्तु र दैनिक सरसफार्इका लागि पानीको चरम अभाव भएको छ ।जिल्ला सदरमुकाम लिबाङमा समेत पानीको हाहाकार देखिएको छ । धारामा पानी नआएपछि बजारवासीले पानी आपूर्तिका लागि खानेपानी उपभोक्ता समितिमा दबाब दिइरहेका छन् ।

धारामा पानी नआएपछि नुवाइधुवाइका लागि एकघण्टा टाढाको लहरी खोला जाने गरेको स्थानीय सोनी केसीले दुखेसो पोखिन् । गर्मीमा दैनिक सरसफाइ गर्न जरुरी रहेपनि पानीका कारण सरसफाइ गर्न नपाएको केसीको भनाइ छ । 

लामो समयको खडेरीले पानीका मुहान सुकेका कारण खानेपानी आपूर्तिमा समस्या देखिएको लिवाङ बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष लिलाधर आचार्यले बताए ।

पूर्वी रोल्पाको तेवाङमा स्थानीय खानेपानी उपभोक्ता समितिले हप्ताको दुई दिन पानी वितरण गर्ने नियम बनाएको भए पनि केही महिनायता पानी आउन छाडेको स्थानीय रविलाल रोकाले जानकारी दिए । सोमबार र शुक्रबार गाउँमा रहेका सार्वजनिक धारामा पानी आउने भएकाले रातिदेखि धारामा गाग्रीको लाइन लाग्ने गरेको छ । धारामा पानी आउन छोडेसँगै सो गाउँका ३०० भन्दाबढी घरधुरी दुई घण्टा टाढाको मूलबाट पानी खान बाध्य छन् ।

अधिकांश जग्गा भिरालो हुनुका साथै बस्तीसमेत पहाडको टुप्पामा रहेका कारण रोल्पाका गाउँबस्तीमा खानेपानीको समस्या देखिने गरेको छ । पानीको स्रोत तल्लो भागबाट बगेर जाने र बस्ती माथिल्लो भागमा रहँदा पानी आपूर्तिमा समेत समस्या देखिने गरेको छ । 

खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहे पनि खानेपानीकै कारण अभियानले तीव्रता लिन सकेको छैन ।

पिउनेपानी र सरसफाइका लागि प्रतिव्यक्ति कम्तीमा ४५ लिटर पानीको आवश्यकता पर्ने भएपनि पानीको अभावले सरसफाइमा असर परेको बताइएको छ । 

वातावरणीय प्रभाव मूल्यांकन नगरी स्काभेटर प्रयोग गरी खनिएका सडकले समेत पानीको मुहान हराउँदै जाँदा पानीको समस्या भोग्न बाध्य भएको जिल्लावासीले गुनासो गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?