ओ माई गड ! भनि नै दिइस् ? मैले एक्साइटेड भएर प्रश्न गरें ।
ऊ काँपिरहेकी थिई ।
***
म सानैदेखि अरुको सेवा गर्न हुरुक्कै । बा स्कुल पढाउनुहुन्थ्यो । ‘अल सब्जेक्ट ।’ दुई वर्ष त प्रिन्सिपल पड्काए बूढाले । आमा घरधन्दे । घरमा हामी तीन जना मात्रै । सरकारी स्कूल भएकाले बा को ठ्याक्कै चार बजे छुट्टी ।
मेरा बालाई सबैले गुरु भन्दै नमस्कार गर्थे । तर मलाई बालाई नमस्कार गर्नेहरु मन पर्दैनथ्यो । किनकि, मलाई बा मन पर्दैनथ्यो ।
चौबीसै घण्टा बा मेरो वरिपरि । अनि के हुन्छ ?
बाको निधारमा कतिवटा धर्का छन् भन्ने पनि याद थियो मलाई । स्कूलमा पीटी गर्दासमेत मेरै बिल्ला गरिदिने । कहिले नङ नकाटेको, कहिले पालिस ला’को, कहिले दाँत नमाझेको त कहिले डाबर लाल दन्त मञ्जन सर्टको टाँकघरमा दलिएको ।
कतिपटक त बा पीटीमा पुग्न ढिला होस् भनेर मैले पावरवाला चश्मा भकारी पछाडिको खोपोमा लुकाइदिएको थिएँ । स्कुलमा बालाई देखेपनि नदेखे झैं गर्थें म । बा चाहिँ मलाई टाढैबाट पनि बोलाउँथे । टिफिन टाइममा बा मलाई आफूसँगै कटरबोटे काकाको पसलमा भुजिया खान लिएर जान्थे । म साथीहरुको गेमबल सम्झिन्थें । म भुजिया खाएर आउँदा साथीहरु टिम छनोट भइसक्थ्यो ।
म सधैँ दर्शकमात्रै ।
***
दिनहरु बित्दै गयो । मैले बाले नै पढाउने स्कूल जनता माविबाट एसएलसी दिएँ । हाम्रो गाउँमा एसएलसी दिएपछि छोरीहरुको बिहे गर्ने पुरानै ट्रेन्ड हो । धेरैले आठ पास भएपछि नै झ्याईं पार्छन् । मेरो पनि नगरकोट तिरबाट बिहेको लागि साइँली फुपूले कुरो ल्याउनुभएको थियो । केटो पशुपति मन्दिरको पुजारी । मैले नाइँ भनें ।
पछि बाले स्कुलमा जापनिजले दिएको कम्युटर सिक्न भनेर म लगायत ६ जना विद्यार्थीलाई सिफारिस गरे । कम्युटर कोर्स गर्दा फोटोसप चलाउन सिक्दा बखत रेखा थापाको ओठमाथिको कोठी गालामा लगेर राख्न जान्ने भएपछि मलाई केही सिप लागेन भने फोटो स्टुडियोमा जागिर खान्छु भन्ने मनमा परिरहन्थ्यो ।
जेठको अन्तिमतिर फेरि काफ्ले दिदीले बिहाको प्रस्ताव मात्र ल्याइनन् केटोलाई हुनेवाला ससुराली भन्दै घरमा ल्याइ टोपलिन् । बा ले के के कुरा गरे कुन्नि । मैले केटाको अनुहार राम्ररी देखेको थिइन । तर देखेँ – उसले दायाँ खुट्टाको जुत्ता बायाँ खुट्टामा बेस्सरी धकेलिरहेको थियो ।
धन्न !
बिहे त जसोतसो टारेँ । अब अर्को लडाइँ थियो काठमाडौँ शहर आउने । मलाई एक्लै काठमाडौँ नपठाउने भनेर घरमा बहस भयो । बा घरी पठाउने निर्णय सुनाउँथे, घरी होस् जान्न यो भन्थे । बाले भनेको कुरामा ‘तब’ र ‘कठै’ जस्ता सहमतिका शब्दावली मात्रै जोड्थिन् आमाले ।
बेलाबेलामा बा भन्थे – हेर बूढी केटीहरु शहर गएपछि जात न भातको केटासँग पोइल जान्छन् । आमाको आवाज सुनिथ्यो – तब । बा थप्दै जान्थे – यसो हुन्छ, उसो हुन्छ । आमा उसैगरी मस्का दिन्थिन् । एक रात पललो कोठामा बा आमाको कुरा सुनियो । म काठमाडौँ जाने भएँ । पारी खड्का दिदीको कंलकीको घरमा बस्ने । चामल घरबाट लाने । भाडा मासिक बाह्र सय बाले नै बुझाइदिने । बा–आमा काठमाडौं आउँदा मेरो कोठामा बस्ने । मैले जागिर खाने ।
म खुसीले रातभर सुत्न सकिन । त्यो दिन मैले ब्युँझिएका आँखाबाट सपना देखेकी थिएँ ।
दिनहरु बिते । हप्ता अनि महिना पनि । रिजल्ट आउने बेला भइसकेको हुन्थ्यो । टारी खेतमा रोपाइँ थियो । बाउसे र रोपारहरु रमाउँदै छितरिरहेका थिएँ । म बेखुसी ।
किनकि, मलाई रिजल्टको पिरलो थियो त्यो बेला ।
त्यो साँझ…
०६४ साल असार महिनाको त्यो साँझ साना खाइवरी भाँडा मस्काउन लाग्दा नेपाल टेलिभिजनले खुल्यो फलामे ढोका शीर्षकमा समाचार दियो । म डरले आत्तिएँ । होसहवास उड्यो । मुख प्याकप्याक भयो । पिसाब फुस्केला झैं भयो ।
काठमाडौँ जाने सारा कुरा मिलिसक्यो अब रिजल्ट गडबड भयो भने त म बाँच्नुको सार नभएको निचोड निकाल्यो मनले । मोबाइल थिएन । बाको मोबाइल अघिल्लो दिन रोपाइँ गर्दा पानीमा झरेकोले बिग्रेको थियो । म छटपटिएँ । बा पनि आत्तिएका थिए । घरिघरी मेरो अनुहार हेर्थे । आज भने बाले मलाई विद्यार्थीभन्दा छोरीको नजरले हेरेका थिए । हामीले भोलि कु¥यौँ नतिजाका लागि ।
पास ।
बिहान आठ बजे अपुष्ट हल्ला आयो । मसहित अठसठ्ठी जना विद्यार्थी पास भएछन् । होलपास । बा पनि नाचुँला झैं खुसी थिए । तर देखाउँदैनथे आफ्नो खुसी । म त शहर गएपछिको सपना सम्झिदै पुलकित भइरहन्थें पूरापूर ।
विरानो परदेशी…
काठमाडौँ सहर आएँ । जसरी भएपनि पढ्ने र बाको स्कुलमा जागिर खाने रहर मनमा पालेकी थिएँ काठमाडौंमा । केही समयपछि गौशालामा मेनपावरमा जागिर पाएँ । रिसेप्सनिस्ट ।
तलब थियो ६ हजार ।
कलंकी चोकनिरको एक प्राइभेट कलेजमा भर्ना गरेँ । मेरो दैनिकी फेरियो । बिहान कलेज दिउँसो अफिस । अफिसमा काम नभएको बेला म पत्रपत्रिका पढ्थें । अनि कलेजमा लेखाएका नोटहरु पनि । पहिलो महिनाको तलबले मैले आमालाई फरिया किनिदिएँ । अझै सम्झना छ त्यो फरियाको रंग ।
यो क्रम निरन्तर चल्यो । वर्षौंवर्ष ।
भूगोल, हावापानी, वातावरण सबैले फरक शहर काठमाडौँ । हिजोआज त बुझ्दििन म शहरलाई त्यो बेलामा पन्ध्र पुगेर १६ लाग्दै थिएँ भदौमा । माइतीघरमा पानी पर्दा त्रिपुरेश्वरमा घाम लाग्ने । वल्लो कोठामा रुवावासी हँुदा पल्लो कोठालाई मतलब नहुने । धोक्रो बोकेर कागज बोतल भन्नेहरु बेलुका चोर बनेर आउने । यी धेरै विशेषता सहजै धान्न सक्ने प्रमुख शहर काठमाडौँ नै होला शायद । म अनुमान गर्थें । विरक्त लाग्दो स्वार्थी काठमाडौंमा म पनि रुमल्लिनु परेको थियो ।
प्लस टुको रिजल्ट आयो । मानविकी संकायमा टपर भएँ म । अरे ! भगवान्ले सुनेछन् । रातरात भर अनिदो बसेको, भोको पेटले परीक्षाको तयारी गरेको, बैंकमा बचत भएका केही हजारहरू । रुप फेरिएको कोठा । मैले दुई वर्षमा धेरै परिवर्तन भएको अनुभूत गरेँ ।
ब्याचलर्समा पनि उसै गरी जागिर र पढाइलाई एकसाथ अगाडि बढाए रिक्साका दुई पाङ्ग्रालाई जस्तै । यसपालि चाहिँ रेगुलर कलेज लिन नपाएकोले म पास मात्रै भएँ । तर म दुःखी थिइन । मलाई लाग्यो – लक्ष्मी र सरस्वतीको झगडा परेको छ । एकै ठाउँमा दुवैको बास हुन्न ।
मास्टर्स पढ्न प्रवेश परीक्षा दिएँ । पास भैगएँ ।
दैनिकी उही थियो जागिर र कलेज । कलेज अनि जागिर । तर संघर्ष निरन्तर । सपना अझ गाढा हुँदै थिए । मास्टर्सको बोर्ड इक्जाम सकिएर फ्री भएको टाइममा एउटा प्राइभेट कलेजले मलाई बिहान ३ घण्टी पढाउन प्रस्ताव गर्यो ।
आखिर यतिका वर्षदेखि बिहान कलेज दिउँसो जागिर नै थियो । गर्छु । मैले निधो गरेँ ।
साउन दोस्रो साता । कलेज विद्यार्थीबाट शिक्षिका त्यो पनि कलेज लेभल । फुरुङ्ग त छँदै थिएँ । त्यसमाथि आफूले कलेज पढ्दा राजनीति गरेर मास्टर हटाएको याद आयो । लौ फसाद् । त्यसो भयो भने? मनमा तर्क वितर्क शुरु भयो । रातिदेखि मुसलधारे पानी परेको थियो । हिलो र चिप्लो शहर । म कलेज पुगेँ । कसरी पढाउने ? कतिबेर पढाउने ? कस्तो व्यवहार गर्ने ? यी यावत् विषयमा को–अर्डिनेटरसँग जानकारी लिएँ । मेरो थर्ड पिरियड थियो । क्लास शुरु भयो । पहिलो दिन परिचयमा सकियो । दोस्रो तेस्रो दिन गर्दागर्दै मलाई सहज हुन थालिसकेको थियो ।
फेरि कस्तो संयोग । मेरो नाम ज्योति उसको किरण ।
किरणजस्तै किरण नामको एउटा स्मार्ट केटा थियो मेरो विद्यार्थी ।
घर काठमाडौँ सिनामंगल, फस्र्ट ब्याइ हो, क्लासको । एक्लो छोरा, औधी पोजेटिभ नेचर । साथीहरुसँग पनि निकै को–अपरेटिभ छ । फस्र्ट दिन भन्थ्यो, हजुरको र मेरो नाममा कनेक्सन छ म्याम । क्लास पूरै हाँस्यो । म लजाएँ । ऊ पनि उनान पचास सालको फस्र्ट डे नोटिस गरेको थिएँ । फेरि भोलिबाट नमस्कार नगर्ला भनेर मैले आफ्नो उमेर सुनाइन । हैट् !
…
पढाउन थालेको चार महिना जति भएको थियो । क्लासका केटीहरु क्यान्टिनमा मलाई जिस्काउथेँ म्याम किरणले हजुरको नाममा कविता लेखेको छ ।
ह्वाट ?
‘एस म्याम ।’, शुभेच्छाले थपी ।
दिनहरु बित्दै थियो । किरण झनै प्रिय हुँदै थियो विद्यार्थीको रुपमा । फस्र्ट टर्म इक्जाममा ऊ फस्र्ट भएको थियो । मेरो विषयमा मात्रै होइन । ऊ सबै विषयमा उत्तिकै राम्रो थियो । गोरो थियो । हँसिलो मुहार । अगाडिको एउटा दाँत अलिक छड्के थियो । हल्का घुम्रेको कपाल । अग्लो छ । मेरो मात्रै होइन सबैको प्यारो छ ऊ । बाबुआमाको पनि असाध्यै प्यारो । ‘मदर्स डे’ मा मैले क्लासमा आफ्ना अभिभावकको बारेमा लेखेर ल्याउने र प्रिजेन्ट गर्ने असाइनमेन्ट दिँदा उसले आफ्ना बा आमाका लागि यति प्रिय शब्द ल्याएछ कि क्लास पूरै सुनसान भएको थियो । पिन ड्रप साइलेन्ट ।
***
मलाई थाहा थियो । ऊ मलाई मन पराउँछ । म चाहिँ उसलाई विद्यार्थीको रुपमा मात्रै धेरै मन पराउँथे । उसले ब्लक बी को कोठा नम्बर १४ मा तेस्रो बेञ्चको छेउपट्टि आफ्नो अखडा बनाएको थियो । म क्लासमा कहिलेकाहिँ मोटिभेस्नल स्टोरी सुनाउँथें । बाघ बाख्राको स्टोरी पुरानो भइसक्यो म्याम न्यू जेनेरेसनलाई एड्रेस गरिस्यो न । उसैले क्यान्टिनमा अनौपचारिक सुझाव दिएको थियो ।
हाउ इज ज्योति म्याम ? एक दिन प्रिन्सिपल सर मैले पढाउँदा पढाउँदै क्लास छिर्नुभयो र सोध्नुभयो ।
किरण जुरुक्क उठेर भन्यो । ‘एक्सिलेन्ट सर इफ सि इज नट हिअर इन फ्रन्ट टु अस वि आर नट डुइङ वेल लाईक यू एप्रिसिएडेड, थ्याङ्क्यु सर ।’
उसले क्लासको बोली बोल्यो वा आफ्नो थाहा छैन । तर, यति सुनाउन पाएकोमा ऊ खुसी थियो ।
अब हल्ला चल्न थालेछ फस्र्ट बोइ इज इन लभ विथ जर्नालिज्म म्याम । फसाद् !
लाजको पसारो । त्यस्तो पनि कहीँ हुन्छ? मैले को–अर्डिनेटरलाई सुनाएँ ।
सरले थप्नुभयो, ‘आज भोलिका टिउराहरू यस्तै हुन् म्याम ।’
***
घर आएँ । अब तनाव बढ्दै थियो । ऊ त इक्जाम दिन्न तनाव छ भन्छ भनेर उसको क्लासमेट आरुसीले सुनाएकी थिई । फस्र्ट बोइ इक्जाम दिँदै छैन । त्यो पनि मेरो विद्यार्थी ।
नो ! यो रोक्नुपर्छ । मेरो मनले भन्यो ।
मैले किरणलाई मोबाइलमा टेक्स्ट गरें, ‘क्यान वि टक राइट नाउ किरण ।’
‘एस म्याम भनिस्यो न ।’, जवाफ आयो ।
‘इफ यू डन्ट माइन्ड प्लिज कम अन म्यासेन्जर, ओपेन योर भिडियो?’
स्योर म्याम ।
कडा खालका शब्द कन्फिडेन्ट्ली भनेपनि मेरो सातो गएको थियो । म्याम हुनुको भूमिका जो निभाएँ ।
गुड इभिनिङ म्याम भिडियो अन गरेपछि उसले भन्यो – ‘गुड इभिनिङ के छ खबर ?’
म औपचारिक बन्न खोजें ।
‘एस म्याम अल राइट ।’
‘इक्जामको तयारी कस्तो भइरहेको छ?’
ऊ बोलेन ।
मैले दोहोर्याएँ, ‘हाउ इज योर प्रिपरेसन फर इक्जाम किरण ?’
ऊ केही बोलेन । अनि भिडियो पनि ल्यापटपतिर फर्कायो । परीक्षाको तयारीको सट्टा उसले फिल्म हेरिरहेको थियो ।
रातको दश बजे परीक्षाको दौरानमा रहेको केटो मुभी हेरेर समय गुजार्दैछ । जर्नालिजम पढ्न भनेर साइन्स पढेर छोडेको केटो । मैले लामो श्वास फेरें ।
उसले मलाई मन पराएको सन्दर्भलाई लिएर कलेजमा को–अर्डिनेटरको कुटाइ खाएन कि, प्रिन्सिपल सरको रेस्टिकेड गर्ने चुनौती सुने न कि…
म आफैसँग पोखिएँ । दुखेँ । एक मनले त भन्थ्यो ह्या धेरै के सोचिरहनु? म उसैसँग विवाह गर्छु । घरजम गर्छु । अनि अर्को मन चिच्याउँथ्यो सम्झी, तँ शिक्षिका होस् । विचारहरु धारा प्रवाह रुपमा मानसपटलमा आइरहे । घरी कुन विचारले कुन विचारलाई पछाथ्र्यो । घरी कुनले कुनलाई निमोठ्थ्यो ।
‘अनि किरण हिजोआज किन तिमी पढ्न मन गरिराखेका छैनौ ? अन्तिम इक्जामको तयारीमा छौ तिमी । नबिर्स ।’
दोस्रोपल्ट आफू शिक्षिका भएको भुमिकामा निभाएँ । आज खास कुरा गर्छु वारपार गर्छु भन्ने सोँचेर मैले भने ।
‘भन के भएको छ । साँचो कुरा बतायौ भने म क्रियटिभ खालको समाधान निकाल्न सक्छु ।’, मैले यत्ति बोलें ।
‘अहिलेसम्म निकालि सक्नुपर्थो । अब ढिला भयो ।’, उसले निन्याउरो उत्तर दियो ।
‘तिमीले सम्झेका छौ? म तिम्रो म्याम हुँ । गुरु हुँ ।’, मभित्रको म्याम हतार गर्दै बोल्यो ।
‘हो, म त्यही म्यामलाई मन पराउँछु । माया गर्छु ।’, उसले विना कुनै संकोच मनको कुरा ओकल्यो ।
मः हाउ डियअ यु ?
ऊः यस आइ हेभ ।
भिडियो च्याटमा धेरैबेर मौनता छायो । उसले आँखाको डिलबाट आँसु खसाल्यो ।
तप्प…
म पनि निशब्द भएँ । के भन्ने ?
***
अघिल्लो रात निद्रा नपरेकाले आँखा टर्रा भएका थिए । कलेज जानै मन थिएन । स्कुटर स्टार्ट गरेँ ।
गेटमा पुगेपछि म अक्कमक्क भएँ । गेट पूरै खोलिएको थियो । सबै जना सर म्याम अगाडि नै उभिइरहनु भएका । केही विद्यार्थीहरु कानेखुसी गर्दै बसिरहेका ।
‘थाहा पाउनुभयो म्याम? किरणले घर छोडेछ नि ।’, एक विद्यार्थी बोल्यो ।
अहो हो र ? कसरी ? कहिले ? हिजो भर्खर त मसँग कुरा गरेको केटो ।
कति बजे नानी ?
नजिकैबाट एउटी अधबैँसे महिलाले सोधिन् ।
राति एघार बजेको थियो ।
लौ न नि ! कहाँ होला कस्तो हालतमा होला । अधबैंसे रोइन् ।
मैले सहन सकिन । मेरो कारण फस्र्ट ब्याइ यो हालतमा पुगेको थियो ।
म क्लास गएँ र केही असाइनमेन्ट गर्न भनेर निस्कें । सिधै पुलिस हेडक्वाटर नक्साल पुगें । अनि मेरो इन्स्पेक्टर साथीलाई भेटेर सबै कुरा सुनाएँ एकै स्वासमा । उसले लोकसन खोजिदियो । एअरपोर्टको एक होटेलको लोकेसन देखियो । म त्यहीं पुगेँ ।
होटलवालालाई रिक्वेस्ट गरेरै भित्र गएँ ।
नक नक…
ढोका खुल्यो । किरण हिजोकै ह्वाइट सर्टमा थियो । मलाई देखेपछि ऊ झन् रुन थाल्यो ।
अब म निश्चित भएँ । मेरो कारण कोही बर्बाद हुँदैछ । मेरो मोबाइल बज्यो । कलेजबाट ।
हेलो ?
नानी मैले सबै कुरा थाहा पाइसकेको छु । किरणले तपाईंलाई असाध्यै मन पराउँछ । माया गर्छ । पढाई राम्रो छ । केही खोट छैन । हुन त तपाईंलाई लाग्ला टिचर पनि काहीँ स्टुडेन्टलाई बिहा गर्छ ? ‘सरले छात्रालाई प्रपोज गरेको, बिहे गरेको कुरा समाजले आरामले पचाउँछ । तपाईं विना मेरो छोरा मर्छु भन्छ, नानी । मेरो छोरालाई बिहे गर्नुस् ।’ म बिलखबन्दमा परेँ ।
विजय मल्लको नाटक सम्झें –‘कोही किन बर्बाद होस् ।’
***
के गर्ने के नगर्ने । थाहा छ मैले आफैँ साथीहरुलाई लेक्चर दिने गरेको थिएँ, डियर साथीभाई तिमोरुलाई प्रोब्लम हुनेबित्तिकै पुलिस हैन मलाई सिधा सम्पर्क राख्नु ९८४९……। यतिबेला मेरो लागि म डिसिजन बनाउन सकिरहेकी थिइन ।
शून्य थिएँ । कान टुइँइँइँ गर्यो ।
मैले मुटु दह्रो पारें र भनें – ‘किरण, आई लभ यू टु ।’ उमेर चाहना एउटै भएपनि म तिम्रो शिक्षिका हुँ । म सँग तिमीलाई अस्विकार गरेको देखाउनुपर्ने बाधयताहरु थिए । तयसकारण म तिमीलाई मेरो माया देखाईरहेकी थिईन । तर मैले घृणा पनि देखाउन नहुने रैछ । सरी ।
मैले तिमीलाई पत्रकारिता पढाउँदा समाचार शीर्षक राख्न सिकाएकी थिएँ । अनलाइन मिडिया भए त झनै खुल्दुली राख्ने शीर्षक राख्नुपर्छ ।
किरण आँसु पुछ्दै हाँस्यो ।
मैले थोरै मुस्कुराउँदै थपिदिएँ, ‘म्याम र विद्यार्थीको विवाह सम्पन्न ।’
यसो भन्दा ऊ दोब्बर खुसी थियो ।
मैले फेरि थपें –
‘ताजा समाचारः शिक्षिकाले छात्र भगाइन् ।’
ऊ यतिबेला हाँस्यो नै ।
***
स्टोरी सुनेपछि मैले मनमनै सम्झें वा अब सम्पादकले यो स्टोरी बडो मन पराउनेछन् । तर ज्योतिले उसको बुबालाई यतिसम्म घृणा गर्नुको कारण के हो ? मेरो सम्पादकले मलाई पक्कै सोध्नेछन् ।
प्रश्न सुन्ने बित्तिकै ज्योतिले भनी – मेरी आमा बाको पहिलो श्रीमती हुन् । म जन्मेँ । बा त छोरा चाहन्थे रे । तर आमाको पाठेघरमा समस्या आएपछि अप्रेसन गरियो । उनी बच्चा दिन असमर्थ भईन् । बाले कान्छी ल्याए । उनी टिकिनन् । टिकिनन् तर बाको असली रुप बुझाएर गईन् । सो आइ हेट् माइ ड्याड के बुझिस् ?
मलाई बुझ्न भन्दापनि स्टोरी तयार पार्ने हतारो थियो ।
***
ज्योतिलाई भेटेर फर्कँदा बाटोमा म हल्का रोमान्टिक मुडमा पुगें ।
सोचें टिचर र स्टुडेन्टको हनिमुन कस्तो जम्ला ?
केही पर बाटोमा केही जोडीहरु हात समाएर हिँडिरहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया