‘दियर आर नो ईम्पोसिबल डेडलाइन्स्’
प्रेरणा तिमल्सिना / कलेजमा ‘लो लेभल अट्याक’ वायू यानको स्याम्पल डिजाइन गर्नुपर्ने ‘असाइन्मेन्ट’ दिइएको थियो । प्रत्येक ग्रुपमा ४ जना पर्ने गरी कक्षाका विद्यार्थीलाई विभाजन गरियो ।
उनको डिजाइनलाई प्रोफेसरले ‘रिजेक्ट’ गरिदिए । भने ‘ यस्तो पनि डिजाइन हुन्छ ? मैले तिमीबाट धेरै आस गरेको थिएँ । यो त त्यसको एक छेउ नि भएन । मलाई अबको ३ दिनमा नयाँ अनि राम्रो डिजाइन चाहिन्छ होइन भने तिमीले छात्रवृत्ति पाउने छैनौ ।’
आफ्नो त्यत्रो परिश्रम पश्चात् यस्तो वचन सुन्दा मनै अमिलो भएपनि उनले हार मानेनन् । उनलाई जसरी पनि छात्रवृत्ति हासिल गर्नु थियो नभए पैसा तिरेर पढ्न सक्ने उनको आर्थिक अवस्था थिएन । भात पानी, हावा हुरी, रात दिन केही नसोची लागिपरे आफ्नो प्रोजेक्टको ‘रिमेक’मा ।
प्रोजेक्ट वर्क बुझाउने दिन उनी आफ्नो डिजाइनलाई अन्तिम पटक चेक गर्दैगर्दा उनका प्रोफेसर आए । त्यो डिजाइन नियाले । अनि उनलाई अङ्कमाल गर्दै भने ‘ आउटस्ट्यान्डिङ ! तिमीलाई यति छोटो समयमा यति प्रेसर नदिएको भए तिमीले थाहा नै पाउने थिएनौ कि तिमी यतिसम्म बनाउने क्षमता राख्छौ भनेर ।’
त्यो दिन उनले थाहा पाए ‘ईम्पोसिबल डेडलाइन्स् कहिले हुँदैन । तन, मन, वचनले लागी परेर गर्ने हो भने जस्तो सुकै काम कम समयमा अनि जुनसुकै हालतमा पनि गर्न सकिन्छ ।’
यो भारतका ‘पिपल्स प्रेसिडेन्ट’ भनेर चिनिने त्यहाँका ११औँ राष्ट्रपति डा.ए.पि.जे अब्दुल कलामको जीवनमा घटेको घटना हो । उनको जन्म सन् १९३१ अक्टोबर १५ मा भारतको तामिल नाडुमा भएको थियो । उनी पेशाले वैज्ञानिक र प्रोफेसर थिए । सुन्दा लाग्छ वैज्ञानिक, प्रोफेसर, राष्ट्रपति जस्तो गरिमामय पदहरुमा स्थापित भएको मानिस कति सफल र सुखी थिए होला । तर त्यस सफलताको लागि उनले चढेका अनगिन्ती पहाडहरु, पार गरेका असिमित महासागरहरु सराहनीय छन् ।
उनको जन्म एक सामान्य तामिल–मुस्लिम परिवारमा भएको थियो । उनका पिता जैनुलाब्दिन एक डुङ्गा चालक थिए भने आमा आशियाम्मा गृहिणी थिइन् । आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएका कारण कलामले पत्रिका बेचेर घरमा पैसा जुटाउँथे ।
विद्यालयमा सामान्य अङ्क ल्याए तापनि कलामलाई सधैँ तेजस्वी र लगनशील विद्यार्थीका रुपमा लिइन्थ्यो । गणितमा उनको विशेष रुचि भएकाले उनले आफ्नो उच्च शिक्षा ‘फिजिक्स’ र ‘एरोटिक्स इन्जिनियरिङ्ग’ विषय लिएर पूरा गरे । उनले आफ्नो जीवनकालमा कैयौँ ‘डक्टरेट डिग्री’ हाँसिल गर्न सफल भए् ।
उनले भारतीय विज्ञान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन् । भारतको पहिलो ‘स्याटेलाइट भेइकल’ उनकै नेतृत्वमा लन्च भएको थियो भने सन् १९७० को दशकमा उनकै नेतृत्वमा भएको दुई प्रोजेक्ट : ‘प्रोजेक्ट डेभिल’ र ‘प्रोजेक्ट भेलियन्ट’ ले भारतमा पहिलो पटक ‘ब्यालिस्टिक मिसाइल्स’ को विकास गरेको थियो । त्यसैगरी उनकै ‘लिडरसीप’ मा भारतले इस्माइलिङ बुद्ध, पोख्रन आदिजस्ता आणविक परीक्षण गर्न र अग्नि, पृथ्वी जस्ता मिसाइल्स प्रक्षपण गर्न सफल भयो । भारतको विज्ञान प्रविधिमा उनले पुर्याएको अतुलनीय योगदानकै कारण उनलाई ‘मिसाइल्स म्यान’ को उपाधि दिइयो ।
पत्रिका बेच्ने सामान्य परिवारको छोरा आखिर कसरी पुगे त राष्ट्रपतिको कुर्सीसम्म ?
जून १०,२००२, सधैँ जसरी उनी आफ्नो लेक्चरमा व्यस्त थिए । लन्च ब्रेकमा लन्च खाइसकेर अर्को लेक्चरको तयारी गर्दागर्दै उनको लागि अफिसमा धेरै पटक फोन आएको कुरा थाहा भयो । फोन उठाउँदा प्रधानमन्त्री अटल बिहारी बाजपायी उनीसँग कुरा गर्न चाहिरहेका थिए । बाजपायीले उनलाई अकास्मात् राष्ट्रपतिको पद ‘अफर’ गरे । कलामले २ घण्टा सोच्ने समय मागे ।
आफ्ना नजिकका ईष्टमित्रसँग यस विषयमा छलफल गरेपछि उनले त्यस अफरलाई एउटा अवसरका रुपमा स्वीकार्ने निर्णय गरे । उनको नाम राष्ट्रपतिको मनोनयनमा पर्यो । जून १८ मा उनी भारी मत अन्तरले आफ्ना विपक्षी लक्ष्मण सेहगललाई पछि पार्दै भारतका राष्ट्रपति घोषित भए । कलाम जीवनभर अविवाहित रहेर निरन्तर राष्ट्रसेवामा लागिरहे जसबापत् उनी पद्म विभुषण, भारत रत्न, पद्म भुषण आदिजस्ता राष्ट्रिय पुरस्कारहरुबाट पनि पुरस्कृत भए ।
उनका केही प्रेरक भनाईहरु :
– भगवानले पनि उसैको मद्दत गर्छन् जो परिश्रम गर्छ ।
– यदि तिमी सूर्यजस्तै बल्न चाहान्छौ भने पहिला त्यसैगरी जल्न पनि सिक ।
– कसैलाई हराउन सजिलो छ तर उसलाई जित्न निक्कै गाह्रो ।
– सपना त्यो होइन जुन तिमी सुतेर देख्छौ, सपना त्यो हो जसले तिमीलाई सुत्न दिँदैन ।
– हामी सबैसँग समान प्रतिभा हुँदैन तर आफ्नो प्रतिभालाई प्रस्फुटन गर्ने समान अवसर हुन्छ ।
उनका केही विशेष क्रियाकलापहरु जसले उनी साँच्चै ‘पिपल्स् प्रेसिडेन्ट’ थिए भन्ने परिचय दिन्छ :
– उनी राष्ट्रपति हुने घोषणा भए लगत्तै एउटा विद्यालयमा गएर आफ्नो मन्तव्य राख्ने क्रममा विद्युत अवरुद्ध ‘पावर कट’ भएपछि उनले विद्यार्थीहरुकै भीडमा गएर उनीहरुलाई वरिपरि राखेर माइक बिना कुराकानी गरेका थिए ।
– विद्यार्थी, युवाहरुले आफ्नो विचार राख्न, योजनाको बारेमा छलफल गर्न चाहँदा उनी राष्ट्रपति भवनमै बोलाएर समेत कुरा गर्थे । कहिलेकाहीँ उनीहरुको योजना के कस्तो चल्दैछ भन्ने बुझ्न ‘फलो अपमा’ समेत बोलाउँथे ।
– उनले आफ्नो सम्पूर्ण सम्पत्ति एउटा ट्रस्टलाई दान गरे जुन ग्रामीण भेगमा भएका जनतालाई शहरको जस्तै सेवा, सुविधा प्रदान गर्ने काम गर्थ्यो ।
– उनी सकेसम्म आफ्नो ‘थ्याङ्क यू कार्ड’ आफैँ लेख्थे । धेरै पटक उनले आफ्ना शुभचिन्तक,जनताहरुलाई आफैँ धन्यवाद पत्र लेखेर पठाएका छन् ।
– एकपटक कुनै कार्यक्रममा प्रमुख अतिथिका रुपमा जाँदा उनी आफ्नो लागि राखिएको कुर्सीमा बस्न चाहेनन् । कारण : त्यो कुर्सी अरुका लागि राखिएको कुर्सीभन्दा ठूलो थियो ।
– उनी राष्ट्रपति भइसकेपछि ‘राष्ट्रपतीय अतिथि’ का रुपमा उनले दुईजनालाई आमन्त्रित गरे :
पहिलो, जुत्ता सिलाउने व्यक्ति जो केरलामा हुँदा उनको निक्कै नजिक थियो ।
दोस्रो, केरलाको एउटा सानो होटलको मालिक जसकोमा उनी केरलामा हुँदा खाना खान्थे ।
– उनी राष्ट्रपति हुनु अघि एउटा महत्वपूर्ण प्रोजेक्टमा नेतृत्व गरिरहँदा उनका एक जुनियर वैज्ञानिकले आफ्ना छोराछोरीलाई चित्रकला प्रदर्शनीमा लग्ने वाचा गरेकाले छिट्टै घर जाने अनुमति मागे । उनले अनुमति दिए । तर काम गरिरहँदा सो वैज्ञानिकले घर जान बिर्से । चिन्तित हुँदै राती घर फर्किँदा आफ्ना छोराछोरीलाई घरमा पाएनन् । श्रीमतीलाई सोध्दा उनले भनिन् ‘तपाईँको म्यानेजर आएर अघि नै लगिसके नानीहरुलाई प्रदर्शनीमा ।’
हजुर ! त्यो म्यानेजर कलाम नै थिए !
राष्ट्रपतिका रुपमा त उनले आफ्नो कर्तव्य निभाए नै तर यस्ता अनगिन्ती प्रसङ्गहरु छन् जसले कलामको महानता र सादगीलाई प्रतिबिम्बित गर्छन् ।
जीवनभर आफूलाई सबैभन्दा प्रिय लागेको काम गर्दागर्दै प्राण त्याग्ने ती भाग्यमानी व्यक्तिवहरुमध्ये एक हुन् कलाम । उनले जूलाई २७, २०१५ मा एक क्याम्पसमा लेक्चर दिने क्रममा आफ्नो प्राण त्यागे ।
उनले भनेका थिए ‘यदि मलाई साँच्चै माया गर्छौ भने मेरो मृत्यु हुँदा सार्वजनिक विदा घोषणा नगर्नु बरु थप एकदिन काम गर्नु ।’ आफ्नो अन्तिम साससम्म पनि उनले करोडौँ मानिसलाई यसरी प्रेरित गरिरहे ।
जस्ट इम्याजिन ! यदि संसारका सम्पूर्ण राजनीतिज्ञ, नेता वा भनौँ सबै मानिसले नै यस्तो व्यवहार आत्मसाथ गर्न सके यो संसार कति सुन्दर हुने थियो होला !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया