विभागीय टोली एपीएफ क्लब जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रदेश २ लाई डकवर्थ लुइस नियमअनुशार ९६ रनले हराउँदै एपीएफ क्लब अन्तिम चारमा पुगेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा दुई ब्याट्सम्यानले शतक प्रहार गर्दा टस जितेर ब्याटिङ रोजेको एपीएफले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रनको विशाल योगफल तयार पारेको थियो ।
यो योगफल प्रतियोगिताकै सर्वाधिक ठूलो योगफल हो । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालयको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा यसअघि नेपाल पुलिस क्लबले ३२४ रनको योगफल बनाएको थियो । एपीएफको पारीलाई उकास्नका लागि सुवास खकुरेल र प्रदिप ऐरीले शतक प्रहार गरे । ओपनर सुवासले १०३ रनको योगदान दिँदा प्रदिपले विस्फोटक १५८ रनको योगदान दिए ।
उनले १३५ बलमा १३ चौका र ८ छक्का प्रहार गरेका थिए । त्यस्तै पृथु बास्कोटाले पनि १४ बलमा २९ रनको आक्रामक पारी खेले भने भूवन कार्कीले १६ रन जोडे । एपीएफको झरेको कुल ६ विकेट मध्ये ५ विकेट दिभ्यांशु मल्लिकले लिएका थिए । ३४० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले १६ ओभरमा विना विकेटको क्षतिमा ६४ रन बनाएपछि मैदानमा बर्षा भएको थियो ।
जसका कारण खेल २८ ओभरमा झारियो भने २०२ रनको नयाँ लक्ष्य निर्धारण गरियो । खेल सुचारु भएलगतै प्रदेश २ का ब्याट्सम्यान लगातार पवेलियन फर्किए । १७ औं ओभरमा नै एपीएफका करण केसीले ओपनर सुरज पेटललाई ३४ रनको ब्यक्तिगत स्कोरमा क्याच आउट गराए भने त्यसपछि क्रिजमा आएका हसिम अन्सारीलाई डकआउट गरे ।
महबुव आलम २ रन बनाएर बसन्त रेग्मीको बलमा एलबीडब्ल्यु भएपछि सौरभ नागवंशी पनि शुन्यमै पवेलियन फर्किए । २० औं ओभरमा हरिशंकर शाहलाई बसन्त रेग्मीले बोल्ड गरेपछि पाचौं विकेट गुमाएको प्रदेश २ ले थप १९ रनका लागि चार विकेट खर्चिँदा १०५ रन मात्र बनाउन सक्यो । बलिङतर्फ एपीएफका कप्तान बसन्त रेग्मी र करण केसीले ३–३ विकेट लिए । तीन खेलबाट ३ अंक जोडेको एपीएफ सेमिफाइनलमा पुगेको छ ।
समूहको विजेता र उपविजेताको टुंगो लगाउनका लागि अब एपीएफले यस अघि सेमिफाइनल पुगिसकेको त्रिभूवन आर्मी क्लबको सामना गर्नेछ । यता मुलपानी मैदानमा भएको खेलमा प्रदेश ५ विजयी भएको छ । बर्षाले प्रभावित खेलमा प्रदेश ५ ले प्रदेश ३ लाई डकवर्थ लुइस नियमअनुशार ३० रनले हरायो ।
सुरुवाती ब्याटिङ गरेको प्रदेश ३ ले ४४ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियो । प्रदेश ३ का लागि भुपेन्द्र थापाले सर्वाधिक ४६ रन जोडे भने अन्यको प्रदर्शन कमजोर रह्यो । बलिङतर्फ लाल अधिकारीले ४ विकेट लिँदा कृष्ण कार्की, सन्दिप सुनार र विक्रम भुषालले २–२ विकेट हात पारे ।
१५३ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले २० दशमलब ५ ओभरमा तीन विकेट गुमाउँदै ८९ रन बनाएको थियो । तर मैदानमा बर्षा भएपछि एक बल पनि चल्न सकेन । डकवर्थ लुइस नियमअनुशार ६० रनको नयाँ लक्ष्य निर्धारण गरियो । जुन प्रदेश ५ ले पार गरिसकेको थियो । यो जितसँगै प्रदेश ५ ले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन खेलबाट प्रदेश ५ ले ५ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया