सुर्खेत : सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३/७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् ।
एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी दिए। प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका छन् । जिल्लामा एक वर्षको अवधिमा ३१ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, जाजरकोटमा २४, सल्यानमा १४, रुकुम र कालीकोटमा १०-१० जना नयाँ बिरामी फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै, दैलेखमा सात, जुम्ला र मुगुमा पाँच-पाँच जना, हुम्लामा तीन र डोल्पामा एकजना नयाँ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
निर्देशनालयका अनुसार पहाडीभन्दा पनि तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी फेला परेको जनाएको छ । निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत केसीका अनुसार सामाजिक विभेदका कारण कुष्ठरोगीको संख्या अझै एकीन गर्न सकिएको छैन।
सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि सुर्खेतमा नयाँ बिरामी फेला परेपछि यसलाई निर्मूल पार्नका लागि अभियानकै रुपमै सञ्चालन गरिने भएको हो । जेठ २७ देखि ३१ गतेसम्म कुष्ठरोग प्रभावित स्थानमा अभियानकै रुपमा सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत गणेशभक्त गौतमले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया