विश्वकप फिवरः फुटवलमय नेपाल (फोटो फिचर)

काठमाडौं । फुटबलको महाकुम्भ विश्वकपको २१ औं संस्करण रुसमा सुरु हुन् ३ दिन मात्र बाँकी छ ।

फिफा विश्वकप विश्वभर हेरिने सर्बाधिक प्रतियोगिता पनि हो । ३२ राष्ट्रले भाग लिने यो प्रतियोगिताको रौनक भने विश्वरभरनै फैलिसकेको छ । नेपालबाट झन्डै ५ हजार किलोमिटर टाढा हुने विश्वकपको रौनकले नेपाललाई पनि कम छुँदैन । त्यहाँ बर्सिने गोलले विश्वका दूरदराजसम्मका दर्शकको मुटुको धड्कन बढाउँछ । 

त्यसैको प्रभावस्वरुप अहिले सहरबजार, चोकचौतारा र टेलिभिजन पसलमा अर्कै रौनक देखिन थालेको छ । स्कुल–कलेजमा अध्ययन गर्नेहरुदेखि पाका उमेर भएकाहरुमा समेत विश्वकपको तातो लागेको छ ।

त्यति मात्र होइन, अहिले सामाजिक सञ्जालका भित्ताहरु विश्वकपमा प्रतिस्पर्धी मुलुकका खेलाडी, तिनले लगाउने जर्सी आदिले रङ्गिएका छन् । रङ्गिएका मात्र छैन, आ—आफ्ना मनपर्ने खेलाडी र देशका बारेमा लेखिएका स्टाटस, तिनबारे गरिएका कमेन्ट र प्रतिक्रियाले समेत सामाजिक सञ्जाललाई छुट्टै उत्सवमय बनाइदिएका छन् । 

नेपालमा विशेष गरी काठमाडौंलगायत सहरी क्षेत्रमा मन पर्ने टिमको जर्सी किन्नेहरुको भिडभाड देखिन्छ ।

नेपाली फुटबल फ्यान तथा समर्थकहरुले आ–आफ्नो टिम तथा देशलाई समर्थन गर्दै विश्वकप फुटबलको दिनगन्ती सुरु गरि रहेका छन् । 

बजार, चिया पसल, सामाजिक सञ्जालमा जतातत्तै अहिले विश्कपको चर्चा चुलिँदो छ । यो वा त्यो टिमले विश्वकप जित्ने भन्दै विभिन्न अड्कल बाजी पनि गरिरहेका छन् । समर्थकहरुले आफूलाई मन पर्ने देश र खेलाडीका जर्सी लाएर हिँड्न सुरु गरिसकेका छन् ।

पुमा, रिबुक, एडिडास, नाइक, लगायतका चल्तीका कम्पनीहरुले विभिन्न देशका आकर्षक जर्सीहरु नेपालमा एक महिना अधि देखि नै भित्राईसकेका छन् । समर्थकहरुले रोजीछानी जर्सी, फूटबल तथा सुजहरु खरिद गर्नका लागि कतिपय कम्पनीहरुले विश्वकप अफर सुरु गरिसकेका छन् । अमेरिका, भियतनाम, सिङ्गापुर, चाइना, थाइल्याण्डबाट सोझै नेपाली बजारमा आएका स्पोर्टवयेरले ग्राहकको मन राम्रैसँग खिचेका छन् । 

ब्राजील, स्पेन, जर्मनी, फ्रान्स र अर्जेन्टिनाका धेरै नेपाली प्रशसंक तथा समर्थक भएकाले यीनै देशका जर्सी सेटले राम्रो बजार तताएको छ । राजधानीको दरबारमार्ग, शेर्पा मल, सिटी सेन्टर, सिभिल मल, काठमाडौं मल, केएल टावर, भाटभोटिनी सुपरमार्केट लगायतका व्यापारिक केन्द्रमा जर्सीको व्यापार बढेको छ । 

विश्वकपको रौनकले गर्दा दैनिक १ सय पिस जर्सी बिक्री हुने कराते खेलाडी पर्शुराम बास्तोलाले बताए । यो वर्ष चर्चित देशहरुको मात्र नभई कतिपयले इजिप्ट लगायत कम चर्चामा आउने देशको जर्सी समेत खोज्न आएको समेत बास्तोलाले जानकारी दिए ।

 

तस्बिरः बिनोद थाया /लोकपथ डटकम

बजारमा खासगरी ए, बि र सी गरी तीन ग्रेडका जर्सी उपलब्ध छन् । ए ग्रेडको जर्सीको १ हजार देखि १५ सय रुपैयाँ पर्न आउँछ । बि ग्रेडको ८ सय देखि ९ सय ५० र सी ग्रेडको ५ सय ५० देखि ७ सय ५० रुपैयाँसम्म पर्ने व्यापारीहरुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?