रसुवा- स्याफ्रुबेँसी, लाङ्टाङ र स्याङजेन क्षेत्रलाई ‘रेडपाण्डा पदमार्ग’ नामकरण भएपश्चात् आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाका अनुसार लाङ्टाङ गोसाइँकुण्ड पर्यटकीय एवं धार्मिक मार्गको वन जंगल क्षेत्रमा विश्वकै दुर्लभ रेडपाण्डा सन् १९८७ मा भेटिएको थियो ।
प्रदेश नं ३ को सरकारले स्याफ्रुबेँसी–लाङ्टाङलाई ‘रेडपाण्डा पदमार्ग’ घोषणा गरेलगत्तै आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएको हो ।
रेडपाण्डाको संरक्षणमा कार्ययोजना बनाई अगाडि बढे पनि प्रचारप्रसारको कमी छ । रेडपाण्डा पर्यटक मार्ग नामकरण भएपछि यसको प्रभाव विश्वमै फैलिन गई हिमाली प्रकृतिको छटा, स्थानीय कला संस्कृतिका साथै रेडपाण्डा अवलोकनका लागि पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताए ।
पर्यटक आगमनमा वृद्धि हुनासाथ पर्यटकको प्रवेश शुल्कबाट राजश्व वृद्धि हुने, पथ प्रदर्शक र होटल व्यवसायबाट स्थानीय बासिन्दाले रोजगारीको अवसर पाउने रेग्मी बताउँछन् ।
सहभागितामूलक तवरले रेडपाण्डा संरक्षण गरौँ भन्ने भावना जगाउन फोहरजन्य वस्तु सुरक्षित ठाउँमा व्यवस्थापन गरी सबै पर्यटकीय क्षेत्र वातावरणमैत्री बनाउनु जरुरी भएको उनको भनाइ छ ।
सन् १९८७ मा ६ महिनाको अध्ययनपश्चात चन्दनबारी, ठूलो स्याँफ्रु, लाङ्टाङ मार्गको लामा होेटल आसपास क्षेत्रमा रेडपाण्डा भएको पुष्टि भएको थियो । सो कार्यमा स्व प्रह्लाद योञ्जनको महत्वपूर्ण योगदान रहेको छ ।
रेडपाण्डा (रातो हाब्रे) संंरक्षणका लागि विश्व वन्यजन्तु सप्ताहको अवसर पारेर वर्षेनी साताव्यापी रुपमा रेडपाण्डा भलिबल प्रतियोगिता समेत सञ्चालन गरिँदै आएको छ । रेडपाण्डा संरक्षणका लागि नियमित गस्ती गरिँदै आएको छ । चोरी शिकारीलाई निरुत्साहित गर्न नेपाली सेनाले गस्ती तीव्र पारेको निकुञ्जका रेञ्जर रमेश बस्नेतले बताए ।
रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको उच्च भाग एक हजार ७१० वर्ग किलोमिटर संरक्षित क्षेत्र तथा ४२० वर्ग किमी मध्यवर्ती क्षेत्रमा रहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गण तैनाथ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया