उत्तर कोरियालाई परमाणु हतियार नष्ट गर्न अमेरिकाले तोक्यो समय सीमा

एजेन्सी: सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच भएको शिखर वार्ताको केही दिन पछि अमेरिकाले उत्तर कोेरियालाई परमाणु हतियार नष्ट गर्न समय सीमा तोकेको छ ।

उत्तर कोरियाले आगामी अढाई वर्ष भित्र ठूलो परिमाणमा परमाणु हतियार नष्ट गरोस भन्ने अमेरिकी चाहना देखियो ।

दक्षिण कोरियाको भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले उत्तर कोरियासँग एक ठूलो सम्झौतामा काम हुन बाँकी रहेको बताए ।

उनले भने “ ठूलो परिमाणमा निःशस्त्रीकरण गर्नुपर्ने आवश्यकता छ । यो लक्ष्य आगामी अढाई वर्ष भित्र पूरा गर्न सकिने हामीलाई विश्वास छ ।”

अमेरिकी विदेशमन्त्रीको यो टिप्पणी ट्रम्प र किमबीचको शिखर वार्ताको एक दिनपछि सार्वजनिक भएको हो ।

सिंगापुरमा दुबै नेताबीच कोरियाली प्रायद्वीयलाई पूर्णरूपमा परमाणु हतियारबाट  मुक्त गर्नुपर्ने बाटोमा अघि बढने सहमति भएको थियो ।

तर सम्झौतामा भएका विवरणलाई सार्वजनिक गरिएको थिएन । उत्तर कोरियाले कहिले र कसरी आफ्नो परिमाणु हतियारलाई समाप्त पार्ने विषयमा कुनै विवरण शिखर वार्ताको क्रममा सार्वजनिक गरिएको थिएन् ।

यस कारण यो शिखर वार्ताको आलोचना पनि भइरहेको छ । ट्रम्पले अब उत्तर कोरियाबाट परमाणु खतरा नरहेको र अब हरेक व्यक्ति अघि भन्दा बढी सुरक्षित अनुभव गर्न सक्ने बताएका थिए ।

शिखर वार्ताका क्रममा उत्तर कोरियाले परमाणु हतियारबाट अलग हुने प्रक्रियासम्बन्धी  कुनै विषयमा स्वीकृति जनाइन नसकेको अवस्थामा यसलाई शंका गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?