प्राविधिक र व्यावसायिक शिक्षा सुधार्ने दाबीसहित कार्यदल गठन

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको उच्च प्राथमिकता रहेको प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीमसम्बन्धी व्यवस्थामा सुधार गर्न प्रा. डा. प्रमोद श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

पाठ्यक्रममा ७० प्रतिशतसम्म प्राविधिक, व्यावसायिक शिक्षाको हिस्सा समावेश गर्ने नीति लिएको सरकारले यसको नीतिगत तथा कानूनी संयन्त्र परिवर्तन गर्न सो कार्यदल गठन गरेको हो । 

मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालका अनुसार प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम नीति, २०६९ मा समसामयिक सुधार गर्न बहुद्वारबाट सञ्चालित प्राविधिक शिक्षा तथा तालीमका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याउने सम्बन्धमा कार्यदलले सुझाव दिनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेपछि सबै स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय खोल्ने पहिलो निर्णय गरेका थिए । 

परिवर्तित सन्दर्भमा समग्र शिक्षा प्रणालीलाई रोजगारमुखी, सीपमूलक, जीवनोपयोगी, व्यावसायिक बनाउनका निम्ति प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका सम्बन्धमा प्रस्तावित नीति तथा संस्थागत संयन्त्रबारे कार्यदलले सुझाव दिनेछ । 

कार्यदलमा डा. सुनिलबाबु श्रेष्ठ, डा. राजेन्द्र अधिकारी, प्रा. डा. टंकनाथ शर्मा र मन्त्रालयका सहसचिव डा. हरि लम्साल तथा उपसचिव डा. मुकुन्दमणि खनाल सदस्य सचिव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?