एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निरन्तरतालाई आगामी लोकसभाको निर्वाचनमा विराम लगाउने योजनामा भारतको प्रतिपक्षी दल कांग्रेसको नेतृत्वमा गठबन्धन विस्तार भइरहेको छ ।
यो गठबन्धनले उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री मायावतीलाई आगामी प्रधानमन्त्री बनाउन गरी राजनीतिक शक्ति संकलन गरिरहेको छ ।
मायावतीको बहुजन समाजवादी पार्टी(बसपा)ले विगत ३ चुनावमा नराम्ररी पराजयको सामना गर्दै आएको छ ।
अहिले बसपाको लोकसभामा एउटा सांसद छैन र पनि बसपाकी नेतृ मायावती प्रधानमन्त्री बन्न सक्ने चर्चा शुरू भएको छ ।
राजनीतिमा सपनाले विपना भन्दा बढी चमत्कार देखाउने गर्छ ।
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवका छोरा पूर्व मुख्यमन्त्री अखिलेश यादवसँग सम्बन्ध सुधार भएयता मोदी विरोधी गठबन्धनको नेताको रूपमा मायावतीको उचाई बढदै गएको देखिएको छ ।
मायावतीले देशको पहिलो दलित प्रधानमन्त्री र दोस्रो महिला प्रधानमन्त्रीको रूपमा आफूलाई राजनीतिक हावाको प्रवाहमा मिसासउन खोजेकी छिन् ।
मायावतीले आफ्नो छविमा सुधार गर्न शुरू गरेकी छिन् । प्रधानमन्त्रीका लागि चाहिने गुणहरूलाई अंगीकार गर्न शुरू गरेको देखिन्छ ।
मायावतीको छवि मसाला
राजनीतिमा हरेक मसालाको प्रयोग गरिन्छ ।
आगामी चुनाव जसरी जसरी निकट आउँछ त्यसरी नै गठबन्धनमा मायावतीको प्रधानमन्त्री बन्ने माग तीव्र हुन थाल्छ ।
तर यो निर्वाचन अघि सत्तारूढ भारतीय जनता पार्टी(भाजपा)शासित तीन राज्यहरू मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा विधान सभा चुनाव हुनुपर्ने छ ।
यसमा बसपा र कांग्रेसले साझा पहल गर्ने भएको छ ।
अपेक्षा गरिएअनुसार कांग्रेसको प्रदर्शन विगतको भन्दा राम्रो हुनेछ ।
बसपा र सपाका साथ कांग्रेसले चुनावी गठबन्धन गरी भाग लिँदा विपक्षी गठबन्धनको ताकत बढने विश्वास गरिएको छ ।
दलित प्रधानमन्त्रीको थेगो
कर्नाटकमा कुमारास्वामीको सरकार बनेपछि विपक्षी गठबन्धन एकताको प्रदर्शन लगत्तै मे महिनाको आखिरी हप्तामा लखनउमा बसेको बसपाको राष्ट्रिय कार्यकारिणीको बैठकमा सबैभन्दा बढी बोलिएको थेगो दलित प्रधानमन्त्री नै सुनियो ।
मिडियामा भारतका १५ राज्यका प्रतिनिधि कार्यकर्ताहरूले आगामी प्रधानमन्त्री दलित प्रधानमन्त्री र मायावती बन्नु पर्ने बताएका थिए ।
मायावतीले आफ्ना भाइ आनन्द कुमारलाई राष्ट्रिय उपाध्यक्ष पदबाट हटाउने घोषणा गरिन् ।
साथै पार्टी विधानमा संशोधन गर्दै नयाँ नियम बनाइन् । त्यस अनुसार राष्ट्रिय अध्यक्षको जीवनकालमा अध्यक्षका परिवारका कुनै व्यक्तिलाई पार्टीको कुनै पनि महत्वपूर्ण पदमा नियुक्त गरिने छैन् ।
साथै तिनलाई पार्टी टिकटबाट निर्वाचित भइ सांसद वा विधायक बन्न नपाउने विधान संशोधन गरिन् । मायावतीमाथि लाग्दै आएको परिवारवादको आरोपलाई उनले यसरी सफा गर्ने प्रयास गरेकी छिन् ।
चुनाव विश्लेषकहरूका अनुसार कांग्रेस बसपा मिलेर चुनाव लडेमा भाजपाको सीट संख्या कम हुनेछ ।
यस्तो अवस्थामा मायावतीले आत्मविश्वासका साथ राजनीतिक सौदेबाजी गरिरहेकी छिन् । उनी भन्छिन् “ सम्मानजनका सीट संख्या नमिले एक्लै चुनाव लडिन्छ ।”
तीन राज्यमा हुने विधान सभाको चुनावले ६६ लोकसभा सदस्यको निर्वाचनको परिणामलाई प्रभावित गर्ने छ ।
गठबन्धनको स्थिति बलियो भए मायावतीको महत्वाकांक्षा पूरा हुन बलियो ताकत प्राप्त हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया