विश्व फुटबलको महाकुम्भ आजदेखि सुरु

काठमाडौं । फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल २०१८ प्रतियोगिता आज रातिदेखि रसियामा सुरु हुँदैछ । 

मस्कोस्थित लुज्निकी रंगशालामा २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको विधिवत उद्घाटन हुनेछ । विश्वचर्चित ब्रिटेनका गायक रोब्बी विलियम्सले रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन दिनेछन् ।

उनलाई रसियन स्टार सोप्रानो एइडा गारिफुलिनाले स्टेजमा साथ दिनेछन् । रसियामा प्रस्तुती गर्नका लागि निकै उत्साहित भएको गायक विलियम्सले जानकारी दिएका छन् । विश्वकपको उद्घाटनमा ८० हजार प्रत्यक्ष र करोडौं अप्रत्यक्ष दर्शक सामु विलियम्सले प्रस्तुती दिनेछन् ।

विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुनेछ ।

यो पटक उद्घाटन समारोहले सांगितिक प्रस्तुतिमा ब्यापक जोड दिनेछ, जुन ‘किक–अफ’ भन्दा आधा घण्टा अघि सुरु हुनेछ । यता ब्राजिललाई दुई पटक विश्वकपको उपाधी दिलाएका लिजेन्ड रोनाल्डोले विश्वकपको ट्रफी मैदानमा भित्राउनेछन् । लगत्तै रसिया र साउदी अरेबियाबीचको खेल सुरु हुनेछ ।

उद्घाटन समारोहका प्रस्तुतीहरु रसियाको च्यानल वानले निर्माण गरेको हो । तीन वर्षअघिको खेल तालिका सार्वजनिक कार्यक्रम देखि विश्वकपको सन्दर्भमा भएका र जुलाई १५ सम्म हुने सबै कार्यक्रमहरुको डिजाइन फेलिक्स मिखाइलोभले गरेका हुन् । ६ क्षेत्रमा भएका छनोट प्रतियोगिताबाट छानिएका उत्कृष्ट ३२ टिमबीच विश्वकपमा प्रतिस्पर्धा हुँदैछ । ३२ स्थानका लागि कुल २ सय ९ टिमले सहभागिता जनाएका थिए ।

जहाँ ८ सय ६८ खेलमा २४ सय ५४ गोल भएर थिए, जसले ३२ टिमको भाग्यको फैसाला भएको थियो । अब यी ३२ टिमबीच २१ औ संस्करणको उपाधिका लागि एक महिना प्रतिस्पर्धा चल्नेछ ।

८ समूहका रहेका ४–४ टिमबीच समूह चरणमा प्रतिस्पर्धा हुनेछ । समूह चरणबाट छानिएका २–२ टिम राउन्ड अफ १६ मा पुग्नेछन् । त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल, तेस्रो स्थान र फाइनल गरी कुल ६४ खेल हुनेछ र एक विजेता छानिनेछ ।

रसिया विश्वकपका लागि ३२ टिमका कुल ७ सय ३६ खेलाडी सहभागी हुँदैछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?