एउटी साहसी केटी उर्फ मलाला !

बिहान ८ बजे पुलिस स्टेशनमा फोनको घण्टी बज्छ ।

‘हेलो ! मैले आफ्नै छोरी भर्खरै मारेँ ।’ उताबाट आवाज आयो ।

घटनास्थल पुगेर हेर्दा १६ वर्षे अक्सा परवेज जीवन र मृत्युको साँधमा हुन्छिन् । आफ्नै घरमा ।

हतारहतार अस्पताल पुर्याइन्छ उनलाई । त्यहाँ उनले आफ्नो अन्तिम सास फेर्छिन् ।
आफ्नै बुवा र दाजुहरुले हत्या गर्नुको कारण ?

अक्सालाईआफ्नो ईच्छाअनुसार लुगा लाउने मन थियो । उनले हिजाव लगाउन मानिनन् । हिजाव अर्थात् मुस्लिम समुदायका महिलाहरुले आफ्नो टाउको ढाक्नलाई ओढ्ने कपडा ।

यो घटना क्यानाडामा बसोबास गर्ने एक मुस्लिम परिवारमा केही वर्ष अघि घटेको हो ।

मुस्लिम राष्ट्र र महिला अधिकार हनन् । यी दुई पर्यायवाची शब्दावली जस्तै लाग्छ ।
चाहे वाक् स्वतन्त्रता सम्बन्धी होस् या आफूले लगाउने पहिरन सम्बन्धी अथवा आफ्नो ईच्छा अनुसार घुमफिर गर्ने कुरामा नै किन नहोस् मुस्लिम राष्ट्रका महिलाहरुलाई सधैँ बन्देज नै लगाइन्छ ।

बुर्कामुनि सिमित हुन्छ उनीहरुको संसार । अनेकौँ परिबन्धले बाँध्छन् उनीहरुको आवाज ।

तर हिलोमा कमल फुल्छ भनेझैँ यही विकराल परिस्थितिले नै पाकिस्तानमा एक अभियान्ता जन्मायो । मलाला युसुफजाई । 

अहिलेसम्मकै सबैभन्दा कान्छी नोवेल पुरस्कार विजेता ।

उनी आफैँ बालिका हुँदा आफ्नो देशमा पढाईबाट वञ्चित अन्य बालबालिकाको शैक्षिक अधिकारका निमित्त वकालत गरिन् । रीतिरिवाज, परम्परारुपी ताल्चाले कैद गरेको महिला आवाजलाई स्वतन्त्रता प्रदान गरिन् ।

तत्कालीन समयमा तालिवानको बिगबिगी थियो पाकिस्तानमा । उनीहरुले कैयौँ विद्यालय ध्वस्त पारे । महिलालाई विद्यालय जानबाट वञ्चित गरे । त्रास र आतंक फैलाए । सास पनि जोखेर फेर्नु पर्ने अवस्था थियो ।
जसको प्रतिकार गरिन् मलालाले । नडराई । नडगमगाई ।

यही कारण उनीमाथि ज्यानलिने हमला पनि भयो । मात्र १५ वर्षको उमेरमा । स्कुलबाट फर्किँदै गरेकी मलालाको टाउकोबाट आरपार भयो गोली ।

‘तर मृत्युसँग साक्षातकार भएपछि झनै साहसी, निडर बनेर आफ्नो यात्रालाई अगाडि बढाएँ ।’ भन्छिन् उनी ।

बाल्यकाल

सन् १९९७ जुलाई १२, उत्तरपश्चिमी पाकिस्तानको स्वात उपत्यकामा जन्म भयो मलालाको ।

उनका बाबु जिआउद्दीन युसुफजाइ शैक्षिक अभियान्ता । आमा तूर पेकाई गृहिणी । मध्यम वर्गीय परिवारमा हुर्केकी मलालाको व्यक्तित्व विकासमा उनका पिता को ठुलो हात छ ।

सानैदेखि डाक्टर बन्छु भन्ने मलालालाई उनकै पिताले डाक्टर होइन राजनीतिज्ञ बन्न प्रेरित गरेका थिए । आफ्ना दुई साना भाईहरु सुतेपछि उनी आफ्ना बाबासँग राजनीतिको बारेमा धेरै बेरसम्म कुराकानी गर्थिन् ।

११ वर्षकी हुँदा प्रेस क्लबले आयोजना गरेको एक कार्यक्रममा ‘तालिवानले शिक्षाजस्तो आधारभुत अधिकारलाई कसरी खोस्न सक्छ मबाट ?’ भन्ने प्रश्न तेर्साएपछि उनी सबै मिडियामा छाईन् ।

यसरी सानै उमेरदेखि मलालामा आफ्नो अधिकारमाथि भएको हस्तक्षेपप्रति विद्रोहको भावना जागिसकेको थियो ।

यात्राको सुरुवात…

बिबिसी उर्दुले तालिवानको आतंकबाट बालबालिका कसरी प्रभावित भएका छन् त भनेर प्रत्यक्षरुपमा उनीहरुको दृष्टिकोण बुझ्नलाई आफ्नो वेबसाईटमा ब्लग लेख्न आग्रह गर्यो ।

तर कसैले यो प्रस्ताव स्वीकारेनन् । केही गरि तालिवानले यसको सुईँको पाए भने आफ्नो र परिवारको जयान जान सक्छ भन्ने भय थियो सबैलाई ।

आफ्ना बाबुले आग्रह गरेपछि मलालाले बिबिसीमा निरन्तर ब्लग लेख्न थालिन् तर अर्कै नामबाट ।
 २००९, १६ फेब्रुअरीमा तालिवान र सरकारबीच शान्ति सम्झौता भयो । 

१८ फेब्रुअरीमा मलालाले ‘क्यापिटल टक’ नामक राष्ट्रिय टेलिभिजन टक शोमा तालिवान विरुद्ध खुलेर आलोचना गरिन् ।
त्यसको ३ दिनपछि महिला शिक्षामा लगाइएको प्रतिबन्ध हटाइयो । तर कहिलेसम्म भनेर सबै अन्योलमै थिए ।

फैलिइन् मलाला

पाकिस्तानी सैनिक स्वात उपत्यकालाई तालिवानको नियन्त्रणबाट छुटाउन त्यस क्षेत्रमा आएपछि दुई समूहबीच द्वन्द्व चल्न थाल्यो ।

त्यहाँ बस्नलाई उचित वातावरण नभएकाले मलालालाई गाउँको घरमा बस्न पठाइएको थियो ।

उनले बिना हिच्किचाहट आफ्नो समस्या खुलेर व्यक्त गरिन् । यसो गर्नाले उनको परिवारलाई मारिदिने धम्की समेत आएको थियो । उनले फेरि पनि ‘क्यापिटल टक शो’ मा आफ्नो अन्तर्वाता दिइन् । बिबिसीमा ब्लग लेख्ने बालिका पनि उनी नै हुन् भनेर सार्वजनिक भयो ।

अमेरिकाको राष्ट्रिय दैनिक न्यू र्योक टाईम्सले युद्ध र द्वन्द्वले जर्जर त्यहाँको  जनजीवनमा एक डकुमेन्ट्री बनाउने योजना बनायो जस अनतर्गत मलालालाई फिल्मिङ्ग गरियो ।

उनले बिना हिच्किचाहट आफ्नो समस्या खुलेर व्यक्त गरिन् । यसो गर्नाले उनको परिवारलाई मारिदिने धम्की समेत आएको थियो ।
उनले फेरि पनि ‘क्यापिटल टक शो’ मा आफ्नो अन्तर्वाता दिइन् । बिबिसीमा ब्लग लेख्ने बालिका पनि उनी नै हुन् भनेर सार्वजनिक भयो ।

त्यसपछि उनी सार्वजनिक रुपमा नै विभिन्न संस्थाहरुमा आबद्ध भएर शैक्षिक अधिकारका विषयमा वकालत गर्न थालिन् ।
उनको अथक प्रयासका लागि उनलाई अन्तराष्ट्रिय बालबालिका शान्ति पुरस्कारका लागि मनोनयित गरियो । यसैगरी उनी पाकिस्तानकी प्रथम राष्ट्रिय युवा शान्ति पुरस्कारकी विजेता पनि भइन् ।

उनको नाममा एक माध्यमिक विद्यालयको नाम समेत परिवर्तन गरियो । 
यसरी मलालाको प्रभाव विस्तारै सबैतिर फैलिँदै गयो ।

मृत्युसँगको साक्षातकार 

सार्वजनिकरुपमै तालिवानको अमानवीय व्यवहार र अन्यायको विरोध गर्न थालेपछि मलालालाई सामाजिक सञ्जाल, फोन, चिठ्ठी आदिमार्फत धम्की आउन थाल्यो ।

सन् २०१२, अक्टोबर ९ । उनी आफ्ना साथीहरुसँग स्कुलबाट फर्किने क्रममा स्कुलबसभित्रै छिरेर एक मुखौटाधारी व्यक्तिले उनीमाथि गोली प्रहार गर्यो । गोली उनको टाउको, घाँटी हुँदै कुममा गएर अड्कियो ।
पेशावरको सैनिक अस्पतालमा ५ घण्टा लामो सर्जरीपछि उनको शरीरबाट गोली निकालियो । उनको उपचारका लागि विभिन्न देशबाट प्रस्ताव आइरहेको थियोे । थप उपचारका लागि उनलाई बेलायत लगियो ।

पाकिस्तानी सरकारले उनलाई लाग्ने सबै खर्चको जिम्मेवारी लिएको थियो । केही महिनाको उपचारपश्चात् उनी सामान्य भइन् ।

पुनर्जन्म भयो…

“मेरो जीवनमा केही परिवर्तन भएन । बरु मेरो कमजोरी, डर र निराशावादीपन मर्यो र क्षमता, शक्ति र साहसको जन्म भयो ।” मृत्युलाई परास्त गरेपछि सर्वप्रथम संयुक्त राष्ट्र संघको एक कार्यक्रममा मलालाले भनिन् ।

त्यस घटनापछि उनी एक ग्लोबल आइकनका रुपमा स्थापित भइन् ।
बेलायतको राजभवन, हार्वर्ड युनिभर्सिटी, अक्सफर्ड युनियन, ह्वाइट हाउस आदिजस्ता सम्माननीय ठाउँमा गएर उनले शैक्षिक महत्वका बारेमा वकालत गरिन् ।

उनले स्थापना गरेको फन्डले विभिन्न सङ्कट ग्रस्त क्षेत्रमा विद्यालयको स्थापना गर्ने, शैक्षिक पहुँच नभएका क्षेत्रमा शैक्षिक वातावरण सिर्जना गर्ने आदिजस्ता सामाजिक विषयमा काम गर्छ । विश्वशान्ति र शिक्षालाई प्रोत्साहन गरेकोमा उनलाई सन् २०१४ मा नोबेल शान्ति पुरस्कारले पुरस्कृत गरियो ।

उनी अहिले पनि सक्रियरुपमा शिक्षा र महिला अधिकारको स्त्तरोन्नतीका लागि निरन्तररुपमा लागिरहेकी छिन् ।

कस्ती छिन् मलाला ?

उनी बोल्न डराउँदिनन् । चुप रहन मन पराउँदिनन् । 

भन्छिन् – ‘हामी आफ्नो आवाजको महत्व तब मात्र महसुस गर्छौँ जब हामीलाई बोल्न प्रतिबन्ध लगाइन्छ ।’
‘जब सारा संसार मौन हुन्छ तब एउटा आवाज पनि काफी हुन्छ ।’

म बोल्छु ता कि आवाजविहीनहरुको आवाज सबैले सुनुन् । आधा जनसङ्ख्या (महिला) मौन बसेर राष्ट्र सफल हुन सक्दैन ।

आशावादी छिन् । साहसी छिन् ।

भन्छिन् – एउटा बालक, एउटा शिक्षक, एउटा पुस्तक, एउटा कलम संसार परिवर्तन गर्ने सामथ्र्य राख्छन् ।

मेरी आमा सधैँ भन्नुहुन्थ्यो ‘आफ्नो अनुहार लुकाउ, मान्छेहरु हेरिरहेका छन् ।’ उत्तरमा म भन्थेँ ‘के भयो त? म पनि उनीहरुलाई नै हेर्दैछु ।’

विवेकी छिन् । सकारात्मक छिन् ।

भन्छिन् – म तालिवानहरुसँग बदला लिन चाहन्न । म उनीहरुको छोराछोरीले पनि शिक्षा पाउन् भन्ने चाहान्छु ।

बन्दुकले आतंकवादीहरुको अन्त्य गर्न सकिन्छ, शिक्षाले आतंकवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?