एजेन्सी : अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अंगीकार गरेको व्यापार नीतिले अमेरिकी अर्थतन्त्रलाई आघात पुग्ने र विश्व व्यापार प्रणालीलाई कमजोर पार्ने चेतावनी दिएको छ ।
आइएमएफकी निर्देशक क्रिस्टिन लाग्रेडले व्यापार युद्धले दुबै पक्षलाई घाटा हुने र यसले गम्भीर प्रकारका असर दिने चेताइन् ।
५० अर्ब अमेरिकी डलर मूल्य बराबरको चिनियाँ आयातमा नयाँ महशुल थप्ने अमेरिकी तयारी प्रति चिन्ता व्यक्त गर्दै उनले सम्बन्धी पक्षलाई सतर्क गराएकी हुन् ।
अमेरिकामा आयात हुने विदेशी फलाम र अल्मुनियममा नयाँ महशुल थप्ने घोषणा मार्चमा गरिएको थियो । यो घोषणा कार्यान्वयनमा गइसकेको छ ।
यो महशुलको घोषणाले युरोप, मेक्सिको, क्यानाडा र चाइनालाई अक्रोशित तुल्याइसकेको छ ।
यी देशहरूले अमेरिकी उत्पादनमा पनि त्यसैगरी महशुल थपेर जस्ताको त्यस्तै नीति अंगीकार गर्ने चेतावनी दिइसकेका छन् ।
यसैगरी ट्रम्प सरकारले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)लाई पनि फिर्ता लिने चेतावनी दिएको छ ।
यसबारे पनि आइएमएफले चिन्ता व्यक्त गरेको छ ।
अमेरिकाको यो रवैयाले खुला व्यापारको अन्तर्राष्ट्रिय प्रणालीलाई भताभुंग पार्ने देखिएको आइएमएफले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया