काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत आजराती समूह ‘बी’ मा रहेको पूर्व विश्वविजेता स्पेनले पोर्चुगलको सामना गर्दैछ ।
दुवै टिमको लक्ष्य उपाधी जित्ने भएकोले आजराती हुने खेललाई समूह चरणकै उत्कृष्ठ र रोमाञ्चक मानिएको छ । यसअघि सन् २०१० को विश्वकपको राउन्ड अफ १६ मा स्पेन र पोर्चुगल आमने—सामने भएको थियो । त्यतिबेला स्पेनले पोर्चुगललाई १–० गोलले हराएको थियो ।
सो खेलपछि दुई टिमबीच ठूला प्रतियोगितामा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । सोचीस्थित फिस्ट ओलम्पिक स्टेडियममा यि दुई टिमविचको खेल नेपाली समय अनुसार राती ११ः४५ बजे सुरु हुनेछ । स्पेनिस टिमलाई सन्तुलित टिम मानिएको छ । युवा र अनुभवी खेलाडीको समिश्रण भएकाले स्पेन आजको खेलमा मानसिक रुपमा बलियो छ ।
तर विश्वकपअघि प्रशिक्षक बर्खास्तमा परेपछि टिममा प्रभाव भने पर्ने देखिएको छ । स्पेनले सन् २०१० मा नै विश्वकपको पहिलो पटक उपाधी जित्दै इतिहास रचेको थियो । अहिलेसम्म स्पेन र पोर्चुगल ३५ पटक प्रतिस्पर्धा गरिसकेका छन् । जसमा स्पेनले १६ र पोर्चुगलले ६ खेलमा जीत हात पारेको छ भने १३ खेलमा बराबरी गरेको थियो ।
स्पेनको टिममा आन्द्रेस इनिएस्टा, सर्जियो रामोस, डेविड सिल्भा, जेरार्ड पिके र डिएगो कोस्टा प्रमुख खेलाडी हुन् । टिममा सवैभन्दा बढी उमेरका ३४ वर्षीय गोलकिपर पेपे रइना छन् । सवैभन्दा कान्छा २२ वर्षका मार्को एसेन्सियो छन् । स्पेनिस फुटवल संघले विना जानकारी प्रशिक्षकलाई बर्खास्त गर्दा यसको फाइदा फर्नान्डो सान्तोसको टोली पोर्चुगलले लिन सक्नेछ ।
युरो च्याम्पियनका रुपमा रुस पुगेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल राम्रो र्फममा देखिएको छ । सन् २०१४ को ब्राजिल विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन खेलमा जित हात पार्ने मनस्थितीका साथ मैदानमा उत्रदैछ ।
पोर्चुगलले सन् १९६६ मा विश्वकपमा तेस्रो स्थान हात पारपनि अहिलेसम्म त्यो भन्दामाथिको स्थान तय गर्न सकेको छैन् । पोर्चुगलका प्रशिक्षक सान्तोसले स्पेन बलियो टिम भएको बताए । तर उनले समूह चरणमा उत्कृष्ट खेलेर पोर्चुगिज टिम अघि बढ्न तयार भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया