एनएमबि बैंकले सार्वजनिक गरेको एफपिओमा ५० करोडको आवेदन

काठमाडौं । एनएमबि बैंकले जेठ ३० गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ)मा दुई दिनमा ४९ करोड ४७ लाख ५४ हजार ७ सय ५० रुपैयाँ शेयर माग भएको छ । 
सेयर बजारमा देखिएको अस्थिरताका कारण पछिल्लो समय लगानीकर्तामा एफपिओमा आकर्षण घटेको छ । 

बैंकको एफपिओ निष्काशनको बिक्री प्रबन्धकको जिम्मेवारी पाएको नागरिक लगानी कोषले दिएको जानकारी अनुसार दुई दिनमा २० हजार ७ सय ९० जना आवेदक मार्फत १४ लाख ८५ हजार ७ सय ५० कित्ता शेयरको माग भएको छ । यो कुल निष्काशनको १३ प्रतिशत कित्ता मात्र माग हो ।

एनएमबि बैंकले २ सय ३३ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३ सय ३३ रुपैयाँ दरको एक करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता थप सार्वजनिक निष्काशन गरेको हो । इच्छुक लगानीकर्ताले एफपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ०७० कित्तासम्म आवेदन दिन सक्नेछन् । एपपिओ छिटोमा असार ३ गतेसम्म र ढिलोमा असार २८ गतेसम्म किन्न पाइनेछ ।

दुई दिनमा माग आवेदन परेको तथ्याङ्कबाट कूल निष्काशिन एफपिओ कित्ताको १३ प्रतिशत मात्र बिक्री भएकाले चार दिनमा अर्थात निष्काशन बन्द हुने छिटो मितिमा सबै बिक्री हुने अवस्था देखिन्न । सर्वसाधारणहरुबाट सबै शेयर माग नभएमा चार दिन पश्चात संस्थागत लगानीकर्ताहरुलाई समेत आवेदन खुला हुनेछ ।

एफपिओ बिक्रीबाट बैंकको चुक्ता पूँजी एक अर्ब १४ करोड बढेर ७ करोड ६० लाख पुग्नेछ भने संस्थापक साधारण सेयर अनुपात ५१ : ४९ कायम हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?