काठमाडौं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’ मा रहेको एसियन महारथी इरान विजयी भएको छ ।
सेन्ट पिटर्सबर्गमा शुक्रबारराती भएको समूह ‘बी’ को पहिलो संघर्षपूर्ण खेलमा इरानले मोरक्कोलाई १—० गोल अन्तरले पराजित गरेको हो । मोरक्कोको एजिज बौहादडौजले आत्मघाती गोल गरेपछि इरानको जित सुनिश्चित बनेको हो । उनले बललाई हेडमार्फत रोक्ने क्रममा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
खेलको नबौं मिनेटमा मोरक्कोका फर्वाड मुबारक बौससौफाले इरानको डिफेन्स लाइनलाई छक्याउदै बल अगाडी बढाउने क्रममा इरानका अयुब अल काबीले फाउल गरेपछि रेफ्रिले यल्लो कार्ड दिएका थिए । खेलको १९ औ मिनेटमा मोरक्कोका लागी मेहदी बेनाटियाले प्रहार गरेको बल बाहिरियो । ३४ औ मिनेटमा मोरक्कोका करिम एल एहमादीलाई यल्लो कार्ड पाएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिमले कुनै पनि गोल गर्न सकेनन् । पहिलो हाफमा मोरक्को इरानमाथि हाबि देखिए पनि गोल गर्न भने असफल रह्यो ।
जितपछि इरानले ३ अंक जाडेको छ । मोरक्कोले प्रहार गरेको १२ सटमध्ये ५ सट मात्र टार्गेटमा परेको थियो भने इरानले प्रहार गरेको ८ सट मध्ये ५ सट टार्गेटमा परेको थियो । मोरक्कोले ५ तथा इरानले २ पटक कर्नर हान्ने मौका पाएको थियो । सन् १९९८ को विश्वकप पछि इरानले जित हात पादै इतिहास रचेको छ । १९९८ मा इरानले अमेरिकालाई हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया