स्थायी गर्नुपर्ने विद्यालय कर्मचारीको माग

काठमाडौँ : नेपाल विद्यालय कर्मचारी परिषद्ले दरबन्दी सिर्जना गरी विद्यालय कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् । परिषद्को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिले विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दी सिर्जना गरी निजामती कर्मचारीसरहको सेवा सुविधा पाउनुपर्ने माग गरेको हो ।

परिषद्का नवनिर्वाचित अध्यक्ष बहादुर खड्काले विद्यालय तहमा काम गर्ने सम्पूर्ण कर्मचारी राष्ट्रसेवक भएको बताउँदै उनीहरुलाई संघीय शिक्षा ऐनमा परिमार्जन गरी आवश्यक दरबन्दी सिर्जना गरेर स्थायी गर्नुपर्ने अाफुहरूको माग रहेको बताए । 

विद्यालय तहमा काम गर्ने लेखापाल र कार्यालय सहयोगी रहेको उक्त परिषद्मा अहिले करीब ४० हजार कर्मचारी आबद्ध छन् । शिक्षा निययमावली, २०२८ मा शिक्षकसरह तलब पाउने भनिए तापनि आफूहरुले पाउन नसकेको र सरकारले आफूहरुलाई दरबन्दीमा नराख्दा पोशाक र महँगी भत्तासमेत नपाएको खड्काले गुनासो गरे ।

परिषद्को बिहीबार सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट खड्काका अध्यक्षतामा ४३ सदस्यीय कार्यसमिति चयन भएको छ । सोअनुसार वरिष्ठ उपाध्यक्षमा डोलराज शर्मा पौडेल र शशिकुमार केसी, महिला उपाध्यक्षमा सपना बज्राचार्य र महासचिवमा प्रदीप श्रेष्ठ चयन भएका छन् । यसैगरी, उपमहासचिवमा लोकनाथ पाण्डे र लक्ष्मणदत्त भट्ट तथा उपाध्यक्षमा रामप्रकाश कुमाई, बालकृष्ण न्यौपाने, रामअधीन ठाकुर, रामशरण फुयाँल, गोविन्द घर्ती र देवबहादुर भण्डारी चुनिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?