अङ्गिता र रेजुना फाइनलमा

काठमाडौं। ललितपुरकी अङ्गिता बलामी र काभ्रेकी रेजुना ठकुरी प्रथम प्रदेश ३ स्तरीय तेक्वान्दो प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश नम्बर ३ तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको महिला ४६ केजीमुनि सेमिफाइनलमा अङ्गिताले धादिङकी सम्झना भण्डारी तथा रेजुनाले भक्तपुरकी निर्मला कुटुलाई पराजित गदै अघिल्लो चरणको यात्रा तय गरेका हुन् । महिला ४९ केजीमुनि काठमाडौंकी पूजा कुवर तथा चितवनकी लक्ष्मीदेवी श्रेष्ठ फाइनलमा पुगे ।

भक्तपुरको सूर्य्विनायकमा भइरहेको प्रतियोगिताको पुरुष ५४ केजीमुनि ललितपुरका सुशील थापा मगर र काठमाडौंका विवेक केसी तथा ५८ केजीमुनि काभ्रेका कपिल थापा र ललितपुरका पवन राईले स्वर्ण भिडन्त पक्का गरे ।

प्रतियोगिताको सांसद् महेश बस्नेतले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा ग्योरोगी र पुम्सेमा गरी १४ स्पर्धामा जम्मा १ सय ६० खेलाडी सहभागी छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?