काठमाडौं। फिफा विश्वकपको समूह ’डी’ को पहिलो खेलमा नवप्रवेशी टिम आइसल्यान्डले साविक उपविजता अर्जेन्टिनाको सामना गर्दैछ ।
विश्वकपको उपाधी दाबेदार मानिएको अर्जेन्टिना र पहिलो पटक भाग लिदै गरेको आइसल्याण्ड आमने—सामने हुदैछन् । यि दुई टिमविचको खेल मस्कोको स्पार्टक स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः ४५ बजे सुरु हुनेछ ।
विश्वकपमा १७ औं सहभागिता जनाउन लागेको अर्जेन्टिना आइसल्याण्डलाई पुरै दबाबमा राख्न चाहन्छ । अर्जेन्टिनाले प्रतिस्पर्धा गर्न लागेको प्रतिद्वन्द्वी विश्वकप खेल्ने अहिलेसम्मकै सानो देश आइसल्यान्ड हो ।
आइसल्यान्ड जनसंख्याको आधारमा विश्वकप खेल्ने सवैभन्दा सानो देश बन्दैछ । ३ लाख ३५ हजार जनसंख्या भएको आइसल्यान्डले दुई पटकको विश्वविजेता अर्जेन्टिना विरुद्ध खेलेर विश्वकप डेब्यू गर्नका लागि राम्रो तयारी गरेको छ ।
अर्जेन्टिनामा स्टार खेलाडी लिओनल मेसी, एन्जेल डि मारिया र सर्जिओ अग्युरो जस्ता अनुभवी खेलाडी भएका कारण आज साँझको खेलमा पुरै हाबी हुने देखिन्छ । अर्जेन्टिनाका लागि छनोट चरण कठिन बनेको थियो । प्रशिक्षक जोर्गे सम्पाओलीको टिमले छनोटको अन्तिम खेलमा इक्वेइडरलाई पराजित गर्दै विश्वकपमा स्थान तय गरेको थियो ।
अन्तिम खेलमा मेसीले ह्याट्रिक गरेका थिए । सन् २०१६ को युरो कपमा डेब्यू गरेको आइसल्यान्डले क्वार्टरफाइनलको यात्रा तय गर्दै सवैको ध्यान खिँचेको थियो । छनोट चरणको खेलमा आइसल्याण्डले क्रोएसिया, युक्रेन र टर्की जस्ता टिमलाई हराएको थियो ।
२०१४ को विश्वकप उपविजेता रहेको अर्जेन्टिनाका लागि गोलकिपर रोमेरो र मिडफिल्डर म्यानुयल लान्जिनी घाइते रहेका छन् । आज अग्रपंक्तिमा मेस्सीलाई एन्जेल डि मारिया, गोन्जालो हिग्गुइन र म्याक्सी मेजाको साथ दिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया