युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

विदेशः उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि चल्दै आएको जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । 

यसै वर्षको अन्त्यतिर दुवै देशले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिएका हुन्  । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । विदेशमन्त्री ह्वाले घोषणा कहिले र कसरी गरिँदैछ भन्ने बारेमा भने केही बताएको छैन् । तर पनि यस वर्षको अन्त्यतिर करिब ६५ वर्ष पुरानो दुई कोरियाबीचको युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरिने जानकारी दिएको हो ।

यस विषयमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तर कोरियाली नेता किम जोङ उन सहमत भइसकेको जानकारी यसअघि नै दिएको थियो । गत अप्रिल २७ मा पानुमजोममा भएको ऐतिहासिक बैठकमा सो विषयमा सहमति भएको बताइएको थियो ।

उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्तापछि जुन १२ मा अमेरिका र उत्तर कोरियाबीच शिखर वार्ताको वातावरण बनेको थियो । दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको एक होटलमा सम्पन्न उक्त वार्तामा यी दुई देशबीच ऐतिहासिक सम्झौता पनि भयो ।

आणविक अस्त्र उत्पादन गर्न नपाइने र परीक्षणस्थल भत्काउनुपर्ने शर्त अमेरिकाले राखेको र ती शर्त पूरा गरेपछि सिंगापुर वार्ता सम्भव भयो । उत्तर कोरियाली नेता किम जोङ उनले सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?