काठमाडौं । साँझको ७ बजेको छ । गाउँका हरेक घरबाट फाट्टफुट्ट मान्छेहरु निँस्किदै मुक्तेश्वर महादेवको मन्दिरमा जम्मा भइरहेका छन् ।
कसैको हातमा गुन्द्री छ, कसैको हातमा काठको मुडा, कसैको हातमा दुधको कित्ली, कोही हातमा प्रसादका लागि स्याउ, सुन्तला त कोही अनेक नैवेद बोकेर गएका छन् । केटाकेटी र युवाहरु खालीहात छन् ।
केही समयपछि मन्दिरमा भिड बढ्छ । बढारेर चिटिक्क पारिएको मन्दिरकाे आँगनमा गुन्द्री ओछ्याइन्छ । मन्दिरभित्र राखिएको श्री स्वस्थानी व्रत कथाको पुस्तकहरु झिकिन्छ । स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने सुरसार गरिन्छ ।
श्री स्वस्थानी व्रत कथा सुरु हुनुअगाडि नै हरेक घरको श्री स्वस्थानी ब्रत कथाको पुस्तक मन्दिरमा राखिएको छ । सबै पुस्तक पढियोस् भन्ने उद्देश्यले दिनदिनै फरक–फरक पुस्तक पढ्ने गरिन्छ मुक्तेश्वर मन्दिरमा । वाचन गर्ने व्यक्ति पनि दिनदिनै फरक–फरक हुन्छन् ।
गाउँका तातेतुते गर्ने नानीबाबुदेखि ठिटाठिटी, अधबैँसे, वृद्धवृद्धा सबैजनाको उपस्थिति हुन्छ त्यहाँ ।
यो दृश्य तारकेश्वर नगरपालिकाको जितपुर गाउँमा अवस्थित मुक्तेश्वर महादेव मन्दिरको हो । यस गाउँमा एउटा नौलो रीत छ । पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमासम्म सामूहिक रुपमा स्वस्थानी वाचन गर्ने र सुन्ने गरिन्छ ।
धर्मकर्मकै धरातलमा टेकेर भए पनि एकछिन सारा गाउँ एउटै आँगनमा अटाउँछ । एकले अर्कोलाई चिन्ने मौका पाउँछन् । बुझ्ने मौका पाउँछन् । गफिने, एकाग्र हुने, व्रत कथा वाचन सुरु हुनुअघि मन्दिरमा आरती हुन्छ र आरतीपश्चात् सबै जना मन्दिरछेउमै रहेको धारामा हातखुट्टा धोएर गुन्द्री, बेन्चमा मिलेर बस्छन् ।
सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वापि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।
अर्थात : सुनको जस्तै दिव्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैँ प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड् ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु । भन्दै ईश्वर घिमिरे (स्थानीय) कथा वाचन सुरु गर्छन् ।
सबै भक्तजनहरु एकाग्र भएर कथा सुन्छन् । छेउमा अखण्ड धुनी बालिएको छ । धुनीको रापले वातावरण हल्का उज्यालो बनाइदिएको छ । र, न्यानो पनि ।
अखण्ड धुनी :
श्री स्वस्थानी व्रत कथादेखि जल्न सुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको छ । यस मन्दिरमा श्री स्वस्थानी व्रत कथामा मात्र नभई शिवरात्रि, कृष्णाअष्टमी, साउनको हरेक सोमबार, तीजलगायत चाडमा भक्तजनको घुइँचो लाग्ने गर्छ । ठूला काठका मुडालाई सानो खाडल बनाएर त्यस माथी अखण्ड धुनी जीवित छ, मुक्तेश्वर मन्दिरमा ।
७६ वर्षीय प्रेमसागर जमकटेल भन्छन्, ‘समय साँच्चै बदलिसक्यो, पहिलेजस्तो समय अहिले रहेन, सबै रोजगारका लागि कताकता जान्छन बेलुका आ-आफ्ना घर आउँछन् । तर अहिले व्रत कथा सुन्नका लागि भनेर सबै गाउँले एकै ठाउँमा भेला हुन्छन् पुरानै दिनमा जसरी, निकै खुसी लागेको छ’, आफ्नो उमेरको कुरा सम्झदै प्रेमसागर बताउँछन् ।
आगोको छेउमै कित्लीमा चिया उम्लिरहेको हुन्छ ।
कथा सकिएपछि केही नैवेद र प्रशादका रुपमा चिया दिइने चलन छ । कथा सकिएपछि सबैजना प्रसाद ग्रहण गर्छन र एकछिन आगो तापेर घरतिर लाग्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया