कृषि बीमा गर्ने कृषकले अनिर्वाय दुर्घटना बीमा गर्नुपर्ने

काठमाडौं । कृषि बीमा गर्ने कृषकको पनि अनिवार्य रुपमा दुर्घटना बीमा गर्नुपर्ने भएको छ । 

बीमा समितिका अनुसार कृषि बीमा गरेका कृषकहरुको दुर्घटना बीमा दुई लाखसम्म हुन्छ । दुर्घटनामा परेर मृत्यु हुने कृषकले मात्रै यस्तो योजनाबाट क्षतिपूर्ति बापतको रकम पाउने व्यवस्था गरिएको छ । 

बीमा समितिका उपनिर्देशक कुन्दन सापकोटाका अनुसार कृषि बीमा गर्दा अनिवार्य रुपमा कृषकको पनि दुर्घटना हुने व्यवस्था गरिएको छ । 

यो व्यवस्था हालैबाट कार्यान्वयनमा आएको हो । बीमा योजनापछि कृषि बिमा गर्ने कृषकहरुको सख्ंया पनि बढेको सापकोटाले बताए । गत वैशाखदेखि यो व्यवस्था लागू भएको हो ।
समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई कृषि बीमा गर्दा अनिवार्य रुपमा दुर्घटना बीमा गर्न निर्देशन दिइसकेको छ । 

दुर्घटना बीमा बापत कृषकले थप रकम बीमा कम्पनीहरुलाई तिर्नुपर्छ । सापकोटाले भने एक वर्षभन्दा कमको कृषि बीमामा कृषकले थप ५० रुपैयाँ तिर्नुपर्छ भने एक वर्षको भन्दा बढी अवधिको कृषि बिमा भएमा कृषकले थप १ सय रुपैयाँ तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?