कलाकारलाई वर्ल्डकप हेर्ने फुर्सद छैन, वर्षालाई मन पर्छ रोनाल्डो

काठमाडौं । यतिबेला नेपाली फिल्म क्षेत्रमा फिल्मको भन्दा धेरै चर्चा फुटबलको भएको छ । विश्वकै ध्यान तानिरहेको विश्वकपमा धेरैजसो कलाकारले दाबेदार भनिँदै आएका देश अर्जेन्टिना, ब्राजिल, पोर्चुगल लगायतको देशको समर्थन गर्दै आएका थिए । तर, यी देशका खेलाडी खासै आक्रामक रुपमा प्रस्तुत हुन सकेनन् प्रथम चरणको खेलमा ।

खेलको समूह चरणको पहिलो खेलमा दुवै देशले राम्रो खेल प्रस्तुत गर्न नसकेपछि दाबेदार भन्दै आएका देशले कस्तो प्रदर्शन गर्लान् भन्ने उत्सुकता कलाकारमा पनि बढेको छ । यद्यपि फिल्मकर्मी फिल्मको कामलाई विश्राम दिएर विश्वकप हेरेका भने छैनन् ।

यसैपनि नेपाली कलाकारलाई खेलप्रति खासै चासो हुने गर्दैन । अझ नेपाली कलाकार त अन्य देशको मनोरञ्जनको दुनियाँसँग पनि त्यति नजिक भएका हुँदैनन् ।

फिल्मकर्मी फिल्मकै काममा व्यस्त छन् । समय मिलाएर विश्वकपको अपडेट पनि लिइरहेका छन् ।

गायक तथा अभिनेता यश कुमार अहिले आफ्नो फिल्म ‘छिरिङ’ को मिक्सिङमा व्यस्त छन् । उनी विश्वकपको अपडेटमा त छन् तर विश्वकपका लागि समय दिन भ्याएका छैनन् । ‘घरको टिभी बिग्रेर विश्वकप हेर्ने मेसो मिलेको छैन, अर्कोतिर यही जुलाईमा हाम्रो फिल्म ‘छिरिङ’ को प्रिमियर गर्ने योजना छ, त्यही कारणले पनि त्यति समय दिएको छैन, खेलको अपडेटमा भने छु,’ यश कुमार थप्छन्, ‘विश्वकपमा चासो नभएको त हैन, तर समय नमिलेजस्तो भइरहेको छ, समाचार हेर्दा यसपटक पहिले अनुमान गरेका टिमभन्दा अरु टिमले जित्ने सम्भावना देखिएको छ ।’

आफूले ब्राजिल, अर्जेन्टिना लगायतका देशले राम्रो प्रदर्शन गर्छन् भनेर अनुमान गरेपनि अहिले हेर्दा स्पेन र फ्रान्सले विश्वकप जित्ने सम्भावना देखेको यश कुमार बताउँछन् । ‘विश्वकपको फाइनल त पक्का हेर्छु तर यसपटक ब्राजिल, अर्जेन्टिनाले खासै जादु देखाउन सक्दैनन् जस्तो छ ।’, उनी भन्छन् ।

साथै यश कुमार मेस्सीले पेनाल्टी मिस ग–यो भनेर गाली गर्न नहुने बताउँछन् । ‘कहिलेकाहीं मिस भैहाल्छ नि यार, मेस्सी भगवान् त हैनन्, किन गाली गर्नु?’, यश कुमार भन्छन् ।

दीपाश्री निरौलालाई पनि यतिबेला फुटबलको रन्कोभन्दा बढी फिल्मको रन्को छ । ‘छक्का पञ्जा ३’ मा निर्देशकको जिम्मा सम्हालेकी दीपाश्री आजै पोखराको शूटिङ सकाएर काठमाडौं फर्किएकी छिन् । आफूले विश्वकप हेर्न त्यति नभ्याए पनि निरन्तर अपडेटमा भएको बताउँछिन् उनी ।

‘हामी त गेममा भन्दा फिल्मको शूटिङमा धेरै व्यस्त भयौं, यसपटक नयाँ राष्ट्र अझ तातेजस्तो देखिन्छ, मेरो यही देशको समर्थन भन्ने छैन, तर अहिले उरुग्गे, आइसल्याण्डजस्ता देश अगाडि बढ्ने देखिएका छन्,’ निर्देशन निरौला थप्छिन्, ‘पहिले तीतो सत्यमा मैले ब्राजिलको समर्थन गरेकी थिएँ, चोक–चोकमा जय ब्राजिल भन्दै पनि हिँडियो ।’

गेममा अपडेट भइरहेकी दीपाश्री आफूलाई नेमार र मेस्सी मन पर्ने बताउँछिन् ।

अर्की अभिनेत्री वर्षा शिवाकोटी भने आफूले अहिलेसम्म पोर्चुगलको गेम मात्र हेरेको बताउँछिन् । ब्राजिलको गेम हुँदा उनी ब्राजिलको समर्थन गरेपनि ब्राजिलको मात्र फ्यान नभएको उनी बताउँछिन् ।
‘अस्ति पोर्चुगलको गेम हेरें, रमाइलो लाग्यो, म रोनाल्डोको फ्यान पनि हो, गेम हेर्न रमाइलो लाग्छ, तर समय पाएकै छैन, रोनाल्डो भने मैले आशा राखेका खेलाडी पनि हुन्,’ वर्षा सुनाउँछिन्,

‘अहिलेसम्म त अनएक्सपेक्टेड देशले नै राम्रो प्रदर्शन गरेका छन्, यो राष्ट्रले जित्छ भनेर भन्न सकिने अवस्था छैन, खेलाडीका हिसाबले रोनाल्डो चाहिँ मन पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?